काठमाडौँ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनकी छोरी गंगा दाहाल शक्तिमा भएका बेला उनीहरुलाई प्रयोग गरेर अनेकौँ अवैध काम गरेको शील्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पालाई मुख्य प्रतिवादी बनाउँदै उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ ।
दाहाल प्रधानमन्त्री भएका बेला छोरी गंगालाई एउटा गाडी नै उपहार दिएको चर्चा चलेकोे थियो । राजस्व अनुसन्धान विभागले गत पुसमा भने काठमाडौं इमाडोलस्थित शील्क ट्रान्सपोर्टको गोदामबाट भन्सारबाट जाँच पास नभएको ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्वले २० करोड १६ लाख बैंक ग्यारेन्टी लिएर भेपसँगै पक्राउ परेका गोदामका कर्मचारीलाई गत फागुनमा हिरासत मुक्त गरेको थियो ।
राजस्व अनुसन्धान विभागले मुख्य प्रतिवादी रमेश र विजयलाई २० करोड १५ लाख ४८ हजार ९ सय १७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ भने मतियारको रूपमा सन्तोष पराजुली र महेश प्रसाद पाठकलाई १० करोड ७ लाख ७४ हजार ४ सय ५८ रुपैयाँ विगो दाबी माग गरिएको छ ।
त्यस्तै शिल्क ग्रुप प्रालि अन्तर्गतका ७ वटा प्रालिहरुका साथै सञ्चालक शेयरधनीहरु रमेश शेर्पा, विजय शेर्पा, सोने शेर्पा, कृष्ण शेर्पा, निमादोर्जे शेर्पा, जाङ्गु शेर्पा, साङ्गो शेर्पा,डिमा छिकी शेर्पा,पुन्यबहादुर कार्की सुनौ, औदी तामाङलाई प्रतिवादी कायम गरी प्रतिवादीहरुबाट ५७ करोड ८ लाख चार सय ५३ रुपैयाँ विगो जफत र विगोको शतप्रतिशत जरिवाना माग गरिएको छ ।







