काठमाडौँ ।
प्रतिनिधिसभा निर्वाचनमा माओवादी युद्धमा प्रत्यक्ष संलग्न रहेका दुईले सिन्धुली–२ मा विद्रोह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सांसद लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि नेता हरिबोल गजुरेल पक्ष असन्तुष्ट बनेको हो । युद्ध पत्रकार महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गजुरेलले पार्टी नेतृत्वकै विधि–पद्धति उल्लङ्घनका कारण विद्रोह अपरिहार्य बनेको दाबी गरेका छन् ।
यो पार्टीभित्रको विद्रोह भएको र विधि र पद्धतिका लागि विद्रोह गरिएको गजुरेलको भनाइ छ ।
लेखनाथ दाहाल (राजन) सिन्धुली–१ बाट सिफारिस भएका थिए । तर टिकट सिन्धुली–२ मा ‘सिफारिसै बिना’ दिइएको आरोप छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले महेश्वरको उम्मेदवारी फिर्ता गरी आधिकारिक उम्मेदवारलाई सहयोग गर्न विशेष निर्देशन जारी गरेका थिए । निर्देशनमा गजुरेल प्रस्तावक रहेको उल्लेख गर्दै ‘अनधिकृत’ मनोनयन फिर्ता लिन भनिएको छ ।
तर गजुरेल उल्टै संयोजककै निर्णयलाई सवाल गर्दै भनेका छन्, ‘जसले विधि, पद्धति उल्लङ्घन ग¥यो, उसैलाई कारबाही हुनुपर्छ । हामीले विधिअनुसार महेश्वरलाई सिफारिस गरेका हौँ ।’ बागी उम्मेदवार महेश्वर दाहालले ‘हुकुमी प्रमाङ्गी’का निर्णयलाई नमान्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल माओवादी युद्धका बेला परिवार नै संलग्न भएका व्यक्ति हुन् । उनका बुवा असारे काकाको उपनामले चिनिने अग्रज हुन् ।







