मेलम्ची नगरपालिका–११ कटुञ्जे स्थित श्री जनजागृति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा १६औँ अभिभावक भेला आज सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले विद्यालयको दीर्घकालीन योगदानको प्रशंसा गर्दै शिक्षा नै समृद्ध समाजको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । विद्यालयले ग्रामीण भेगमा गुणस्तरीय शिक्षा विस्तारमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै नगर प्रमुख तामाङले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नगर उप–प्रमुख उमा प्रधानले विद्यार्थीको सर्वाङ्गीण विकासमा अभिभावक, शिक्षक र स्थानीय सरकारको साझा जिम्मेवारी रहने धारणा राख्नुभयो । शैक्षिक उपलब्धिसँगै अनुशासन, संस्कार र सिर्जनशीलता विकास गर्न यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने बताउनुभयो ।
अभिभावक–विद्यालय सहकार्य अझ बलियो बनाउनु आजको आवश्यकता रहेको उप–प्रमुख प्रधानको भनाइ थियो । त्यसैगरी विशेष अतिथि वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले विद्यालयलाई वडाको शैक्षिक गौरवका रूपमा उल्लेख गर्दै आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार, शैक्षिक सामग्री र सह–पाठ्यक्रम गतिविधिमा वडाको साथ रहने उहाँले बताउनुभयो । कार्यक्रममा चर्चित तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विद्यार्थीहरूको आकर्षक सांस्कृतिक कार्यक्रम र विविध प्रतिभा प्रस्तुतिले दर्शकको मन जितेको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रुपेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक इन्द्रबहादुर तामाङले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावकहरूका लागि आयोजना गरिएका सहभागितामूलक गतिविधि तथा प्रतियोगिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । कार्यक्रममा बलबहादुर वाइबा,आशा लामा,सोम दुलाल ,अन्जन दुलाल लगायतले आफ्नो प्रस्तुति दिनुभएको थियो ।







