नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिले विद्यालय तहमा कार्यरत शिक्षकहरुका लागि एक दिने सिर्जनात्मक लेखन प्रशिक्षण शनिबार सम्पन्न गरेको छ ।

झन्डै एक सय जना शिक्षकहरूको सहभागिता रहेको बार्णिक तथा मात्रिक छन्दमा कविता सिर्जना सम्बन्धी कार्यशालामूलक प्रशिक्षणको सहजीकरण प्रा.डा. देवी नेपालले गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले शिक्षकको पेशागत विकासका निम्ति सङ्गठनले गरेका कार्यहरुको प्रशंसा गर्दै पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि संगठनले यसरी नै निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो ।
इन्द्रावती क्याम्पसका क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ‚ सङ्गठनका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले स्थानीय तहले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकासमा चासो नदिएकोमा दुखेसो व्यक्त गर्दै नगर शिक्षा समिति र वडा शिक्षा समितिले गर्नुपर्ने खालका कार्यक्रम शिक्षक सङ्गठनले गरी सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन् ।
यसबाट विद्यालयहरुमा विद्यार्थीलाई सिर्जनात्मक लेखनमा प्रोत्साहित गर्न र कविता शिक्षणलाई प्रभावकारी बनाउन कार्यक्रम निकै फलदायी रहेको सहभागीहरुको भनाइ रहेको छ । नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरु र साहित्य सिर्जनामा रुची हुने शिक्षकहरुलाई लक्षित गरी उक्त प्रशिक्षणको अयोजना गरिएको राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीका अध्यक्ष कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । सिकाइको कार्यान्वयन अब सिर्जनात्मक कर्ममा र आफ्ना कक्षाकोठामा हुनेछ भन्ने अपेक्षा अयोजकको रहेको छ ।







