काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नयाँ नेतृत्व चयनको चर्चा चुलिएको छ । फागुन १ र २ गते हुने भनिएको यो अधिवेशन आमनिर्वाचनका कारण रोकिएको छ । १३औँ कार्यकारिणी बैठकले फागुन १ गते अधिवेशन र फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ सहित १३ जिल्लालाई समेट्ने बागमती प्रदेश महासंघ राजधानी रहेको जिल्ला पनि समावेश भएका कारण थप चर्चामा हुन्छ । नीति निर्माणमा पनि यसको फरक भूमिका हुन्छ ।

नेतृत्वका लागि चार आकाँक्षी देखिएका छन् । प्रदेशकै प्रतिनिधित्व गर्दै केन्द्रमा पुगेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बेदबहादुर श्रेष्ठले सार्वजनिक रुपमानै उम्मेदवारी घोषणा गरेका छन् । उसोत सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले संस्थागत रुपमा नै निर्णय गरेर बेदबहादुर श्रेष्ठलाई उम्मेदवार वनाएको छ ।
सिन्धुपाल्चोकको अध्यक्ष हुँदा कार्यालय भवन निर्माण गर्नेदेखि कृषि उद्योगलाई स्थापना गर्नका लागि श्रेष्ठले ठुलो भूमिका खेलेका थिए । केन्द्र,प्रदेश र जिल्लाको समन्वयमा उनले खेलेको भूमिका उल्लेखनीय रहेको महासंघ केन्द्रमा पनि चर्चा हुने गरेको छ । हरेक जिल्लामा पुगेर त्यहाँका समस्या र समाधानका उपायका बारेमा उनले विचार विमर्श सुरु गरेका छन् । त्यस्तै गरी वस्तुगत–एसोसियट समूहबाट दुर्गाराज श्रेष्ठले पनि अध्यक्षको आकाक्षा देखाएका छन् । लतितपुरका सविन श्रेष्ठले पनि अध्यक्षका लागि लविग गरिरहेका छन् ।
खैरहनीका गुणराज श्रेष्ठले पनि वागमतीको अध्यक्ष हुनका लागि चाहना राखेर अघि बढेको स्रोतले जानकारी दियो । दुर्गाराज र गुणराज दुवै हाल नेतृत्व संरचनाभित्र उपाध्यक्षका रुपमा सक्रिय छन् भने सविन पूर्व उपाध्यक्षका रूपमा अनुभव बोकेका दाबेदार हुन् । बेदबहादुर भने जिल्ला संरचनाबाट उठेका दाबेदार हुन् । उनले बाह्रबिसेमा सम्पन्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको साधारणसभामै आफ्नो उम्मेदवारी खुला घोषणा गरिसकेका छन् । वर्तमान नेतृत्वले भने सहमतिमा नेतृत्व चयन हुने बताएको छ । प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले सहमतिमै नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको वताएका छन् । सवै उम्मेदवारहरुले सहमतिको विकल्पलाई प्राथमिकता दिँदै छलफल र संवादमा आफू खुला रहेको प्रतिकृया दिएको बर्तमान नेतृत्वले जनाएको छ ।







