सन् २०२२ मा नै २ सय ५० कामदार शून्य लागतमा मलेसिया पठाएको आकर्षण इन्टरनेसनलले अहिले पनि शून्य लागतमा कामदार मलेसिया पठाउने जिम्मा पाएको छ । सन् २०२२ मा भएको कामप्रति सफलता पाएका कारण अहिले आकर्षण इन्टरनेसनलसहित लाल धनुषले ८ सय श्रमिक पठाउने सम्झौता गरेको हो । मलेसियास्थित विस्ट्रोन टेक्नोलोजी एसडीएन बीएचडीले यस वर्ष नेपालबाट शून्य लागतमा ८०० जना श्रमिक लैजाने भएको छ । कम्पनीले नैतिक, पारदर्शी र ऋणमुक्त भर्ती प्रक्रियामार्फत नेपाली कामदार लैजाने व्यवस्था अवलम्बन गर्दै आएको छ ।

विस्ट्रोनले सन् २०२२ मा पहिलो पटक नेपालमा शून्य लागत मोडेल घोषणा गर्दै वैदेशिक रोजगारी क्षेत्रमा सुरक्षित र सम्मानजनक प्रवाहको नयाँ मानक स्थापित गरेको थियो । अहिले ६ सय महिला र २ सय पुरुष लैजाने भएको छ ।
यस पटक कम्पनीले नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लाल धनुष इन्टरनेसनल सर्भिसेज मार्फत ६ सय महिला र २ सय पुरुष गरी कुल ८ सय जना श्रमिक लैजानका लागि विस्ट्रनका प्रतिनिधि नेपाल आएर अन्तिम अन्तरवार्ता लिइसकेका आकर्षण इन्टरनेसनल प्रालिका विष्णु केसीले बताए । विस्ट्रन मलेसिया ग्लोबल कम्पनी हो । यसले नेपाली श्रमिकहरूलाई सूचना प्रविधिको कम्पनीमा काम दिने गरी लैजान लागेको कम्पनीका प्रमुख केनीले बताएका बताएका छन् । नेपालका आकर्षण र लाल धनुष प्रालिले प्रारम्भिक छनौट गरेका व्यक्तिहरूलाई विस्ट्रोनका प्रतिनिधिहरूले अन्तिम अन्तरवार्ता गरेर छनौट गरेका हुन् ।
लाल धनुषका कम्पनी निर्देशक निमा शेर्पा पनि ग्लोबल कम्पनीले विश्वास गरेर दिएका जिम्मेवारीप्रति दत्तचित्त भएर काम गरेको बताउँछन् । विस्ट्रोन कम्पनीका प्रतिनिधिहरूका अनुसार, शून्य लागत नीति केवल प्रक्रिया होइन, मानव मूल्य र जिम्मेवार व्यावसायिक अभ्यासको प्रतीक हो । श्रमिकलाई सुरक्षित र ऋणमुक्त रोजगारी उपलब्ध गराउन प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ । पारदर्शी प्रक्रिया हुने भएका कारण सरकारी निकायले भने अनेक दवाव दिने गरेको कम्पनीहरुको अनुभव छ । सम्पूर्ण लागत कम्पनीले व्यहोर्ने कारण पनि नेपाली कामदारलाई यो प्रकृयाले साह्रै राम्रो गरेको जानकारहरु बताउँछन् ।
आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीका अनुसार, वेस्टर्न (विस्ट्रोन) टेक्नोलोजीले श्रमिक मलेसिया पुग्नु अघि नै प्रति श्रमिक १ लाख २० हजार रुपैयाँ बराबरको खर्च नेपालमै अग्रिम पठाउने गरेको छ । यही रकमबाट पासपोर्ट, श्रम स्वीकृति, भिसा, टिकट, मेडिकल, बिमा, तथा सुरक्षा सम्बन्धी खर्च पूरा हुन्छ ।
कम्पनी बहुराष्ट्रिय भएकाले श्रमिकसँग कुनै शुल्क लिन नपाइने स्पष्ट नीति लागू छ । त्यसैले ऋण बोकेर विदेश जानुपर्ने अवस्था हटेको छ । श्रमिकले आफ्नै पासपोर्ट आफैँसँग राख्न पाउने र यदि काम मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था समेत रहेको छ ।
मलेसियामा विभिन्न उद्योग, सेवा, निर्माण र कृषि क्षेत्रमा देखिएको श्रमिक अभावलाई पूर्ति गर्न दक्षिण एसियाका मुलुकहरूबाट श्रमिक लैजाने गरेको छ । नेपाल–मलेसिया बिच सन् २०१८ अक्टोबर २९ मा श्रम सम्झौता भएपछि श्रमिक आवत–जावत वैधानिक र व्यवस्थित बनेको छ ।
शून्य लागत मोडेलले कामदारलाई ऋण नतिरीकनै रोजगारी पाउन मद्दत गरेकाले उनीहरूले कमाइ आफैँ र परिवारका लागि खर्च गर्न र औपचारिक प्रणालीमार्फत रेमिटेन्स पठाउन सक्षम भएका छन् । यसले श्रमिकको जीवनस्तर सुधार र रेमिटेन्स प्रवाहको पारदर्शिता र स्थायित्वमा योगदान पुगेको छ ।
नेपाली वैदेशिक रोजगारीमा अझै पनि दलाल र ठगीको समस्या रहेकाले श्रमिकलाई वैध र पारदर्शी प्रक्रियामार्फत पठाउने तथा सीपअनुसार काममा जोड्न पर्ने भएकाले सचेतना आवश्यक रहेको छ ।
मलेसियामा हाल श्रमिकका लागि न्यूनतम तलब १,७०० रिङ्गिट तोकिएको छ । यो दर स्थानीय नागरिक र आप्रवासी श्रमिक दुवैमा समान रूपमा लागू हुने सरकारी नीति अवलम्बन गरिएको छ । त्यसोत मानवअधिकारको क्षेत्रमा पनि यो कम्पनीलाई सकारात्मकरुपमा हेरिएको कारण श्रमिकको अधिकारमा समस्या नहुने अवस्था छ ।







