पिस्कर विद्रोहले वि.सं. २०४० सालताका मुलुकमा सामन्ती राजतन्त्र विरुद्ध एउटा मनोवैज्ञानिक तरङ्ग नै ल्याइदिएको थियो । तत्कालीन पञ्चायती शासकहरू आफैँले पिस्करमा गरिएको नरसंहारलाई जाहेज सिद्ध गर्न “राजतन्त्र विरुद्धको गतिविधिलाई निस्तेज गर्न प्रहरी बल प्रयोग गरिएको” प्रचार चलाइरहेका थिए तर विद्रोहका समर्थकहरू भने शान्तिपूर्ण ढङ्गले माघेसङ्क्रान्तिको मेला भर्न आएका जनतामाथि शासकहरूले हिंसात्मक दमन चलाई मानवता विरोधी अपराध गरेको आरोप लगाइरहेका थिए । घटनाक्रमले यो कुरा सिद्ध गर्छ कि पिस्कर विद्रोह सामन्ती सत्ता विरुद्धको विद्रोह नै थियो । आदिबासी थामी समुदायमाथि सामन्तीवादी वर्गले ठुलो आर्थिक, सामाजिक तथा सांस्कृतिक अत्याचार थोपरेको थियो । सामन्तवादको नेता राजतन्त्र हो र राजतन्त्रलाई समाप्त नगरेसम्म सामन्तवादको जरो उखेल्न सकिन्न भन्ने उन्नत स्तरको वर्गचेतनाबाट निर्देशित थियो पिस्कर विद्रोह ।

निरङ्कुश पञ्चायती व्यवस्थाको शासनकालभरि नै (करिब ३० वर्ष) चलेको ग्रामिण वर्गसङ्घर्षका विभिन्न घटनाहरूमध्ये पिस्कर विद्रोह सबैभन्दा विपन्न तथा पछाडि पारिएका समुदायको वर्गसचेत विद्रोह थियो । तिनताका अनेक जिल्लाहरूमा वर्गसङ्घर्षका आँधीहरू सुरु भए पनि पिस्कर विद्रोहमा छुट्टै तथा दूरगामी महत्त्व राख्ने विशेषताहरूमा अन्तर्निहित थिए । पहिलो विशेषता यो विद्रोह वर्गीय विचारबाट आदिबासी जनजातिहरू कसरी सङ्गठित र जागरुक भए भन्ने विषयसँग सम्बन्धित छ । दोस्रो सबैभन्दा आर्थिक र सामाजिक दृष्टिले पछाडि पारिएका गरिब समुदाय कसरी राजनीतिक आन्दोलनको निर्णायक शक्ति बन्न सक्छ भन्ने विषयसँग सम्बन्धित छ । तेस्रो वर्गीय आन्दोलनभित्रको अर्को मुख्य आन्दोलन जातीय चरित्र बोकेको आन्दोलनमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयसँग पनि सम्बन्धित छ । चौथो जातीय आन्दोलनको महत्त्वलाई सही ढङ्गले बुझ्न नसक्ने गल्तीले वर्गीय आन्दोलन कसरी कमजोर हुँदै जान्छ भन्ने विषयसँग पनि सम्बन्धित छ । यस प्रकारका अनेक सवालमा केन्द्रित भएर पिस्कर विद्रोहलाई सामाजिक, आर्थिक तथा राजनीतिक आन्दोलन, त्यो पनि ग्रामिण क्षेत्रका अति गरिबवर्गको सक्रिय सहभागिताको आन्दोलन हो भन्ने विषयमा समग्र विश्लेषण हुन सकेको छैन । यस विद्रोहको मौलिकतालाई अझै गहिराइमा गएर बुझ्ने, अन्वेषण गर्ने काम बाँकी नै छ ।

त्यसो त धनकुटाको छिन्ताङ सङ्घर्ष पनि गरिब आदिबासी जनजाति, दलित, महिलाहरूको सक्रिय सहभागिता रहेको ग्रामिण वर्गसङ्घर्ष नै हो । त्यस्तै चितवनको जुगेडी पनि चेपाङ जाति आदिबासीहरूले सामन्तवादविरुद्ध सङ्घर्ष गर्दै जीवन बलिदान गरेको वर्गसचेत आन्दोलनको थलो हो । सुर्खेत, झापा, बारा, दाङलगायतका विभिन्न जिल्लामा भएको वर्गीय चरित्र बोकेका आन्दोलनहरूको पनि ठुलो महत्त्व त छँदैछ । जनताका सङ्घर्ष, प्रतिरोध, दमन, बलिदानका घटनाहरूलाई यो ठुलो, यो सानो भनेर आग्रह पूर्वाग्रहयुक्त विश्लेषण अगि सार्नु न्यायोचित पनि ठहरिँदैन । यति भएर पनि नेपालको ग्रामिण क्षेत्रको वर्गसङ्घर्षका इतिहासका पानाहरूमध्ये पिस्कर विद्रोहबाट सिक्ने, ग्रामिण क्षेत्रको वर्गीय विशेषतासहितको विद्रोहलाई सामाजिक, आर्थिक, रूपान्तरणका प्रक्रियामा जोड्ने काममा पिस्कर एक उपयुक्त बहसको केन्द्र बन्न सक्छ भन्ने विषयमा भने विवाद हुन सक्दैन । यसैले यसका अलग विशेषताहरूलाई कम आँक्ने काम पिस्कर क्षेत्रका जनताका निम्ति न्यायोचित हुन सक्दैन ।
अर्धसामन्ती र अर्धऔपनिवेशिक नेपाली समाजलाई बदल्न वर्गसङ्घर्षको बाटोविना सम्भव छैन । विश्व कम्युनिस्ट आन्दोलनको इतिहास श्रमजीवीवर्गको विद्रोह, उक्त विद्रोहमाथि भएको हिंसात्मक दमन र त्यसको प्रतिरोधका निम्ति सञ्चालित हिंसात्मक सङ्घर्षको इतिहास हो तर एक्काइसौँ शताब्दीमा श्रमजीवीवर्ग कमभन्दा कम हिंसात्मक प्रतिरोध गर्नुपरोस् भन्ने चाहन्छ । ऊ हिंसात्मक बाटोको प्रभावकारी विकल्पमा पनि प्रवेश गर्न चाहन्छ । त्यसैले नयाँ शताब्दीमा वर्गसङ्घर्षको रूप हिंसात्मक हुनै पर्छ भन्ने होइन । अझ भनौँ, गैरहिंसामा आधारित वर्गसङ्घर्ष र त्यसकै जगमा निर्मित श्रमजीवीवर्गको शासन सम्भव छ भन्ने विश्वासमा बढोत्तरी भएको छ । नेपाली समाजमा ने.क.पा. (माओवादी) ले सञ्चालन गरेको सशस्त्र जनयुद्धको विघटन र शान्तिपूर्ण प्रतिस्पर्धामा रूपान्तरणका निम्ति परेको जनदबाबले यही विश्वासलाई बल प्रदान गरेको छ । यिनै वस्तुगत धरातलमा वि.सं.२०४० सालताका पिस्कर क्षेत्रमा सुरु भएको जनविद्रोहको बाटो शान्तिपूर्ण रहेर पनि कसरी नेपाली समाजमा नयाँ तरङ्ग पैदा गर्न सफल भयो भन्ने कुरा अहिले पनि गम्भीर अध्ययनको विषय बन्नुपर्छ ।
पिस्कर विद्रोहले सिकाएको वर्गसङ्घर्षको शान्तिपूर्ण प्रयोग भनेको वर्गचेतनालाई घनीभूत रूपले आधारभूत वर्गसम्म पु¥याउने सबैभन्दा महत्त्वपूर्ण काम हो । हामी वर्गयुद्ध हिंसात्मक होस् भन्ने आग्रह पाल्न सक्छौँ तर वर्गका बिच विचारधारात्मक कामलाई सघन रूपमा अत्यन्तै विपन्न समुदायमा पु¥याउँदैनौँ भने त्यसरी सुरु गरिएको वर्गसङ्घर्ष चाहे त्यो सशस्त्र रूपकै किन नहोस्, त्यसले आधारभूत वर्गको समग्र हितको प्रतिनिधित्व गर्दैन । त्यति मात्र होइन, त्यसले वर्गीय मुक्तिको आधारभूत संरचनासमेत तयार पार्न सक्दैन । पिस्कर विद्रोहको शान्तिपूर्ण प्रयोगको प्रभावकारी रूप भनेको तल्लो वर्ग (आधारभूत वर्ग) बिच वैचारिक कामलाई घनीभूत बनाउने काम हो, जुन काम नेपालका अन्य वर्गसङ्घर्षसँग जोडिएको विद्रोहमा कमै पाइन्छ । यस सिकाइलाई हामीले जहिले पनि जुनसुकै ग्रामिण क्षेत्रमा पनि लिएर जान सक्छौँ ।
पिस्कर विद्रोहको अर्को सिकाइ भनेको शोषितपीडित जनता आफैँले आन्दोलनको प्रत्यक्ष नेतृत्व गर्ने विधि हो । अधिकाङ्श ग्रामिण क्षेत्रको वर्गीय आन्दोलन कमजोर हुनुको पछाडि पीडित वर्गलाई आन्दोलनको नेतृत्वमा ल्याउने अभ्यास नगरिनु हो । गाउँका हेपिएका दलित, आदिबासी, महिला, त्यस्तै किसानहरू जस्तो मोही, भूमिहीन आदिलाई हामी विद्रोहमा सहभागी बनाउन खोज्छौँ तर उनीहरूमा नेतृत्व गर्ने क्षमता हुँदैन भनेर उनीहरूलाई त्यो तहको विश्वास गर्दैनौँ । जेल जानु, घाइते हुनु, बलिदान हुनु मात्र आन्दोलनमा सहभागी हुनु होइन । त्यो आन्दोलनको नेतृत्व गर्ने क्षमता राख्नेहरू नै त बलिदान दिन हिम्मत राख्छन् । हामीमा रहेको सामन्ती सोचका कारणले नै हो कि पीडितहरू आन्दोलनका नेता हुन सक्दैनन् भन्ने । प्रगतिशील सोच भनेको पीडितहरूले नै आन्दोलनको नेतृत्व गर्नुपर्छ र त्यसको नेता पनि उही हो भन्ने हो । कैयौँ कमीकमजोरीलाई हटाउनै पर्ने स्थिति पीडित वर्गका कार्यकर्तामा रहे पनि उनीहरूमा सबैभन्दा राम्रो पक्ष भनेको आफ्ना सवालप्रतिको अडान हो तर पीडा नभोगिरहेको वर्गका कार्यकर्तामा सबैभन्दा कमजोर पक्ष भनेकै अडानबाट च्युत हुने प्रवृत्ति हो । वर्गसचेत कार्यकर्ताहरूमा चाहिने चुरो कुरा भनेकै आफ्ना मागहरूप्रति अडिग हुने दृढ स्वभाव हो । उनीहरूले अरू सबै कुरा छोडे पनि आफ्नो आन्दोलनको मूल मागलाई छोड्नु हुँदैन । पिस्करका जुझारु वर्गमा आधारित कार्यकर्ताहरूमा अहिले पनि यस भावनाले काम गरिरहेको छ । यसलाई ओझेलमा पर्न दिनु हुँदैन ।
पिस्कर विद्रोहको अर्को महत्त्वपूर्ण पाटो भनेको आदिबासी विपन्न थामी जातिले आफ्नो मुक्तिको बाटो भनेको वर्गीय आन्दोलनको बाटो हो भन्ने विषयलाई आत्मसात् गर्न सक्नु । थामी जातिमाथि हुने भेद्भाव, शोषण र अनेक प्रकारका अत्याचारविरुद्ध सङ्घर्ष गर्न थामी मात्रले पुग्दैन, सबै जातजातिका शोषित पीडित वर्गहरू एक ढिक्का हुनुपर्छ भन्ने भावना थामी जातिमा प्रशस्त पाइन्छ । यति भएर पनि उनीहरूमा आफ्नो भाषा, संस्कृतिप्रति पनि ठुलो आस्था छ । गौरव छ । आन्दोलनबाटै हामीले थामी जातिको पहिचानलाई उजिल्याउन सक्छौँ भन्ने विश्वास छ । यो चेतना उनीहरूले माक्र्सवादी दृष्टिकोणबाटै प्राप्त गरेका हुन् । कम्युनिस्ट पार्टी यदि गाउँमा क्रियाशील नभएको भए उनीहरूमा आफ्नो जातप्रति गौरव हुने थिएन होला । वर्गसचेत चेतनाले नै जातीय अस्तित्वलाई सम्मान गर्दो रहेछ भन्ने विश्वास छ थामीहरूमा । उनीहरूमा रहेको यस चेतनालाई अन्य आदिबासी जनजातिमा पु¥याउन किन नसक्ने ? अहिले उनीहरू ‘नेपाल थामी समाज’भित्र आबद्ध छन् र वर्गीय आन्दोलनमा जातीय आन्दोलनको महत्त्वलाई गहिरोसँग बुझ्ने प्रयास गर्दै छन् । जातीय सवाल मात्र तेस्र्याएर वर्गीय आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्रप्रति पनि सचेत छन् उनीहरू । वर्गीय आन्दोलनका नाममा आफ्नो जातिको अस्तित्व, भूमिका र विशेषतालाई अस्वीकार गर्ने चिन्तनको विरुद्ध पनि त उनीहरूको वैचारिक सङ्घर्ष जारी छ । विचारको हिसाबले ने.क.पा. (एमाले) भित्र आबद्ध भए पनि जातीय अस्तित्वका निम्ति सबै थामी जातिलाई गोलबन्द गर्दै अगि बढ्ने सोचमा धेरै परिपक्वता पाइन्छ । थामी जातिका कैयौँ कार्यकर्ताहरूमा उनीहरूको यो अनुभव हामी माझी, पहरी, दनुवार, भुजेल, गुरुङ, तामाङ, शेर्पा, मगर, हेल्मोलगायत विभिन्न आदिबासी जनजाति, भाषाभाषीका बिचमा आदानप्रदान गर्न पनि सक्छौँ । यसले हाम्रो समाजलाई नयाँ ढङ्गले पुनःसंरचना गर्न मद्दत गर्छ ।
पिस्करमा अहिले पनि बालविवाह प्रशस्तै भइरहेको छ । महँगो संस्कृति रीतिरिवाजका कारणले पनि थामी जातिको जीवनस्तरमा सुधार आउन सकेको छैन । यो विकृतिविरुद्धको सामाजिक लडाइँ अरूले लडिदिएर हुँदैन । यो थामीजातिहरूको पछौटेपनसँग जोडिएको त्यही जातिभित्रको समस्या हो । यो समस्यासँग लड्न उनीहरूले आफ्नो जातीय सङ्गठनलाई प्रयोग गर्न सक्छन् । समस्या जसको हो, सङ्गठन पनि त्यही समस्याबाट पीडितहरूको हुनुपर्छ । त्यो समस्यासँग लड्ने सङ्घर्षको नेतृत्व पनि उसैको भइदियो भने सबैभन्दा प्रभावकारी वर्गसङ्घर्ष त्यही हुन्छ । सशस्त्र सङ्घर्षको एउटा बेठिक परम्परा जसलाई सधैँ अस्वीकार गर्नुपर्ने विषय भनेको निश्चित तालिम प्राप्त हतियारधारीहरूले जनताको समस्या समाधान गरिदिने आश्वासन हो । यस विधिले लडाइँ अगि बढ्छ, हारजित हुन्छ तर यो जनताको आर्थिक, सामाजिक रूपान्तरणमा परनिर्भरताको छाप छोडिदिन्छ । जसले गर्दा हाम्रा समस्या अरूले समाधान गरिदिउन् भन्ने भावना शोषित पीडित विपन्नवर्गमा परिरहन्छ । त्यसैले वर्गसङ्घर्षका ज्ञाता चारु मुजमदार भन्नुहुन्छ– गरिब, भूमिहीन किसानहरू मात्रै सङ्घर्षका नेता हुन सक्छन् ।
अहिले पिस्करको वस्तुस्थिति भनेको आदिबासी जनजातिको सवाल र वर्गीय आन्दोलनका मुद्दाहरूलाई संयोजन गर्दै अगि बढ्नुपर्ने स्थिति हो । एकको अभावमा अर्को सवाल अपाङ्ग हुन पुग्छ । यो पनि त्यहाँको वर्गसङ्घर्षले सिकाएको अनुभव हो । स्थानीय स्वायत्त निकायको नेतृत्वमा आफ्नो जातिको भूमिका प्रभावकारी बनाउने, आफ्नो भाषा संस्कृतिको विकास गर्ने अरूको जमिन जोतिरहेकाहरूले पूरा हक पाउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका हरक्षेत्रमा आरक्षणको व्यवस्था हुनुपर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूमा आफ्नो जातिका निम्ति विशेष व्यवस्था हुनुपर्ने, वनपैदावरमा आधारित आर्थिक जीवन (निगालो काट्ने र डोको नाम्लो भकारी बुन्नेलगायतका काम) भएकाले वनक्षेत्रलाई थामीहरूको परम्परागत सामुदायिक सम्पत्तिको हकका रूपमा स्विकारिनुपर्नेलगायतका अनेक माग र त्यसका निम्ति चालिसे आन्दोलनहरू अहिलेको त्यहाँको वर्गीय आन्दोलनका विषयहरू हुन सक्छन् । जसलाई शान्तिपूर्ण रूपले प्रयोग गर्दै ती मागहरूलाई अरू प्रकारका शोषण उत्पीडन विरुद्धको आन्दोलनमा विकास गर्दै अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजलाई बदल्ने राष्ट्रिय आन्दोलनमा सक्रिय भूमिका खेल्ने विकल्प उनीहरूसँग छ । त्यहाँ रहेका अविरल बगिरहने ठाडो खोलाहरूबाट सस्तो बिजुली निकाल्न सकिन्छ र त्यो केन्द्रीय विद्युत् प्रसारणमा जोडेर आएको आम्दानीले उनीहरूको विकासमा सहयोग पुग्न सक्छ ।
पिस्करमा सुन्तलादेखि लप्सीसम्म प्रशस्त फल्छन् । यहाँ बाटोघाटोको राम्रो व्यवस्था, सिँचाइ, विद्युत्लगायत घरेलु उद्योगसमेतको स्थापना गरी स्थानीय आयआर्जनका प्रशस्त विकल्पहरू छन् । ती सबै मागहरू वर्गीय आन्दोलन, सामुदायिक जनसङ्गठनको आन्दोलनमा जोडेर शान्तिपूर्ण रूपले पनि पिस्करलाई परिवर्तन गर्न सकिन्छ । त्यसका निम्ति केन्द्रीय सत्ता जनताका निम्ति हुनुप¥यो र त्यसले पिस्करजस्ता हजारौँ पछाडि पारिएका ग्रामिण बस्तीका समस्याहरूलाई सम्बोधन गर्न सक्नुप¥यो ।
माक्र्सवादका परम्परागत पाठ्यविधिलाई नयाँ शताब्दीका नयाँ विकल्पसँग जोड्ने चेतना नै पिस्करको परिपक्व वर्गचेतना हो । यो चेतना त्यहाँका जनताले लामो वर्गीय आन्दोलनबाट सिकेको अनुभवमा आधारित छ । जुन अनुभव अन्य ग्रामिण बस्तीहरूमा पनि आदानप्रदान गर्न सकिन्छ । पिस्करको समाजलाई रूपान्तरण गर्न आवश्यक ढाँचालाई वर्तमानका राज्यका पुनःसंरचनाका बहस र समावेशीकरण तथा संविधान सभाको बहसका विषयहरूमा कसरी अन्तरसम्बन्धित गर्ने भन्ने सवालमा पिस्करबासीलाई नै छलफलमा सक्रिय बनाउन खाँचो छ । पिस्करको प्रगतिशील चेतनालाई अद्यावधिक गर्दै नयाँ शताब्दीमा आवश्यक नयाँ वर्गचेतनातर्फ उन्मुख गराउने दायित्व हामी सबैको हो । पिस्कर त एउटा प्रतीक हो । यस्तै सामाजिक, आर्थिक तथा सांस्कृतिक धरातलमा अवस्थित हाम्रा अधिकाङ्श गाउँहरूलाई नयाँ ढङ्गले पुनः जागृत गर्न हामीमा विगतका वर्गीय आन्दोलनबाट खारिएको चेतनाको खाँचो छ । हामीमा समाजलाई पुनर्निर्माण गर्ने हाम्रो मौलिकतामा आधारित वर्गचेतनाको आवश्यकता छ अनि मात्र हामीले विगतका सामाजिक, आर्थिकलगायतका समस्यासँग जोडिएका राजनीतिक आन्दोलनलाई सम्बोधन गर्न सक्छौँ ।
हाम्रो राजनीतिक नेतृत्वसँग एउटा ठुलो भ्रम रहने गरेको छ । त्यो हो राजनीतिक सम्झौताले सबै समस्याको प्रतिनिधित्व गर्छ भन्ने विश्वास । कुनै पनि राजनीतिक विषयमा मात्र केन्द्रित रहेर हुने सम्झौता केवल सत्ताको भागबन्डा मात्र हो । त्यसले हाम्रो समाजको समग्र चरित्रलाई बदल्न सक्दैन । विगतका (चाहे त्यो २००७ सालको होस् वा २०४६ सालको) सम्झौता मूलतः सत्ताको भागबन्डामा मात्र सीमित हुनुका पछाडि त्यसले वर्गीय समस्यालाई सम्बोधन गर्न नसकेकाले हो । शान्तिपूर्ण आन्दोलनको उचाइमा हुने सम्झौताहरूमा वर्गीय मुद्दाहरू सम्बोधित हुनुपर्छ, अन्यथा वर्गहरूको आन्दोलन धोकामा परिणत भइरहन्छ र सशस्त्र सङ्घर्षको औचित्य पुष्टि भइरहन्छ । विगत २०४६ सालको सम्झौतामा पिस्करजस्ता ग्रामिण क्षेत्रका सङ्घर्ष र वर्गका मुद्दाहरू समावेश नभएकै कारणले पनि मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक रूपान्तरणका विषयमा सफल राष्ट्र र दिगो लोकतन्त्रको अनुभूति दिलाउन नसकेको हो ।
( वासु अधिकारीले सम्पादन गरेको पिस्कर ऐतिहासिक जनविद्रोहमा प्रकाशित )







