सिन्धुपाल्चोक ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा उम्मेदवारहरूको व्यक्तिगत पृष्ठभूमि र पारिवारिक अवस्था पनि मतदाताबीच चासोको विषय बनेको छ। विशेषगरी सन्तानको बसोबास, पेशा तथा पारिवारिक संलग्नता सम्बन्धी विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार बशलाल तामाङ सम्बन्धी चर्चा सामाजिक सञ्जाल र चुनावी जमघटमा सुनिन थालेको छ। मतदाताले उनी स्थायी बसोबासका हिसाबले अमेरिका केन्द्रित रहेको तथा परिवारका सदस्यहरू विदेशमा छन । उनी स्वयं अमेरिकी स्थायी बसोबास (पीआर) धारक रहेको भन्ने गरिन्छ । यद्यपि, उनका निकटवर्तीकाहरू भने उनी नेपालको राजनीतिमा सक्रिय र प्रतिबद्ध रहेको दाबी गर्छन्।

त्यसैगरी वामपन्थी पृष्ठभूमिबाट आएका उम्मेदवार युवराज दुलालको पारिवारिक सन्दर्भ पनि चर्चामा छ। उनका एकमात्र छोरा प्रारम्भिक अध्ययनपछि बेलायत र पछिल्लो समय अस्ट्रेलियामा अध्ययन/बसोबास गरिरहेको चर्चा छ। दुलालका आफन्तहरूले उनको छोरा विदेशमा अध्ययनरत रहेको स्वीकार गर्दै यसलाई व्यक्तिगत पारिवारिक निर्णयको रूपमा हेर्नुपर्ने बताएका छन्। दुलाल स्वयं भने सर्वहारा वर्गको नेतृत्वको मुद्दा उठाउँदै चुनावी मैदानमा उत्रिएको दावी गर्छन् ।
यसै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङका दुई छोरा नेपालमै रहेको जानकारी सार्वजनिक छ। तीमध्ये एक एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन । तामाङकी श्रीमती पनि राजनीतिक गतिविधिमा छन् । एमाले पक्षले यसलाई परिवारकै स्तरमा राजनीतिक प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्दै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको हकमा उनकी श्रीमती व्यवसायमा संलग्न रहेको बताइएको छ। अन्य दलका उम्मेदवारहरूको तुलनामा रास्वपाका उम्मेदवारको पारिवारिक विवरण सार्वजनिक बहसमा कमै आएको देखिन्छ।
निर्वाचनको सन्दर्भमा उम्मेदवारहरूको पारिवारिक अवस्था कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न भने बहसयोग्य छ। केही मतदाता सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको पारिवारिक पारदर्शितालाई आवश्यक ठान्छन्। उनीहरूका अनुसार, देशभित्र अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्ने नेताका सन्तान स्वयं विदेशमा बस्नु विरोधाभास हुन सक्छ। अर्कोतर्फ, कतिपयले सन्तानको शिक्षा र बसोबास व्यक्तिगत निर्णय भएको तर्क गर्दै यसलाई चुनावी मुद्दा नबनाउनुपर्ने बताउँछन्।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको मूल एजेन्डा विकास, सुशासन र नीतिगत स्पष्टता हुनुपर्छ। तथापि स्थानीय तहमा उम्मेदवारको पारिवारिक पृष्ठभूमि र जीवनशैलीसमेत मतदाताको मूल्यांकनको आधार बन्ने गरेको यथार्थलाई नकार्न सकिँदैन।







