सिन्धुपाल्चोक : दुई वर्षअघि प्रकाशित समाचारको विषयलाई लिएर त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाध्यक्ष रमेश राउतले पत्रकार दिनेश दुलालमाथि सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ ।

बाह्रबिसेको खोर्सानीबारी बजारमा गत असोज १३ गते भएको घटनामा वडाध्यक्ष राउतले पत्रकार दुलाललाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको महासंघले जनाएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिअनुसार, सिन्धुज्वाला साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत रहेका दुलालले हात मिलाउन खोज्दा राउतले ‘मसँग हात मिलाउने तेरो हैसियत के?’ भन्दै अपमानजनक अभिव्यक्ति दिएका थिए । उनले समग्र पत्रकारिता क्षेत्रलाई समेत जोडेर नकारात्मक टिप्पणी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाको पृष्ठभूमिमा दुई वर्षअघिको समाचार रहेको बताइएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–२ मा ट्रान्समिसन लाइन विस्तारका क्रममा स्थानीयले वडाध्यक्षविरुद्ध गरेको आन्दोलनबारे दुलालले समाचार प्रकाशित गरेका थिए । सोही समाचारलाई लिएर राउतले अहिले आएर आक्रोश व्यक्त गरेको दुलालको भनाइ छ ।
समाचारप्रति असन्तुष्टि भए कानुनी बाटो अपनाउने विकल्प हुँदाहुँदै जनप्रतिनिधिबाटै पत्रकारमाथि दुर्व्यवहार हुनु गम्भीर विषय भएको महासंघले जनाएको छ । समाचारको खण्डन प्रकाशन गराउने वा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै महासंघले व्यक्तिगत आक्रोशका आधारमा सञ्चारकर्मीमाथि अपमानजनक व्यवहार गर्नु उचित नभएको स्पष्ट पारेको छ ।
महासंघका जिल्ला अध्यक्ष ध्रुव दङ्गालद्वारा जारी विज्ञप्तिमा वडाध्यक्ष राउतलाई पत्रकार दुलालसँग क्षमायाचना गर्न र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन आग्रह गरिएको छ ।
जनप्रतिनिधिबाटै सञ्चारकर्मीमाथि भएको भनिएको दुर्व्यवहारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधिको जवाफदेहिताबारे पुनः बहस सिर्जना गरेको छ ।






