काठमाडौ : नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीमा नेपाली सेनाले २४० फिट लामो बेलीब्रिज जडान कार्य सुरु गरेको छ ।

नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको टोलीले बेत्रावतीस्थित फलाखु खोलामा करिब ३०० मिटर सडकखण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँच मार्ग निर्माण गरेपछि पुल जडानको काम अघि बढाएको हो ।
६० टन भारवहन क्षमता भएको २४० फिट लामो एक्रो ब्रिज आश्विन १९ गतेसम्म उक्त स्थानमा ढुवानी गरिएको थियो। त्यसपछि आश्विन २० गतेदेखि पुल जडान कार्य सुरु गरिएको सेनाले जनाएको छ ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित नुवाकोट–रसुवा सडक सम्पर्क पुनः सहज हुने, साथै स्थानीयको आवागमन र अत्यावश्यक सामग्रीको ढुवानीमा समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।






