काठमाडौं : मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि महोत्तरीको पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका कर्मचारी साविककै कार्यालयमा बसिरहने र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने प्रवृत्तिप्रति हस्तक्षेप गर्दै गाउँपालिकाको अधिकारमा रोक लगाएको हो।

मन्त्रालयका अनुसार पिपरा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि नै अन्यत्र सरुवा गरिएको थियो । तर, सरुवा भएको कार्यालयमा हाजिर नभई उनी पिपरामै कार्यरत रहँदै आएका थिए । त्यसमाथि मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पनि गाउँपालिकाले उनलाई हाजिर गराएको थिएन ।
यसैलाई आधार बनाउँदै मन्त्रालयले साविकका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ ।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ ।
यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल नयाँ कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयको निर्णयसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने पिपरा गाउँपालिकाको निर्णयमाथि प्रशासनिक रूपमा गम्भीर प्रश्न उठेको छ ।






