सिन्धुपाल्चोक : चाडपर्व नजिकिँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले खाद्यान्न ढुवानी गर्ने सवारीसाधनको चेकजाँच तथा अनुगमनलाई तीव्रता दिएको छ ।
नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेल, उद्योग वाणिज्य संघका सदस्य कुमार थापालगायतको टोलीले बन्देउ नाकामा खाद्यान्न बोकेर नगर प्रवेश गर्ने साना तथा ठूला सवारीसाधनको चेकजाँच गरेको हो ।
अनुगमन टोलीले खाद्यान्नको गुणस्तर, ढुवानी प्रक्रिया, आवश्यक कागजात तथा निर्धारित मापदण्डको पालना भए–नभएको विषयमा निगरानी गरेको जनाएको छ ।
चाडपर्वका बेला खाद्यान्नको माग बढ्ने भएकाले बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्यान्न भित्रिन नदिन अनुगमनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले चेकजाँच गरिएको हो ।
चेकजाँचका क्रममा खाद्यान्न बोकेका सवारीसाधन रोकेर आवश्यक कागजात तथा ढुवानीसम्बन्धी विवरणसमेत परीक्षण गरिएको थियो ।
नगरपालिकाका अनुसार बन्देउ नाकामा अनुगमन भोलि पनि निरन्तर हुनेछ । अनुगमनका क्रममा नियमविपरीतका गतिविधि भेटिए आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
नगरपालिकाले खाद्यान्नको आपूर्ति प्रणाली व्यवस्थित गर्नुका साथै उपभोक्ताको हित संरक्षणका लागि सम्बन्धित निकायसँगको समन्वयमा बजार तथा ढुवानी अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।







