सिन्धुपाल्चोक: काठमाडौं नजिकैको अनुपम हिमाली सौन्दर्य, प्राकृतिक सम्पदा, मौलिक संस्कृति र साहसिक पर्यटनलाई विश्वसामु चिनाउने लक्ष्यसहित सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले ‘जुगल पर्यटन वर्ष २०८३’ मनाउने भएको छ।

जुगललाई आकर्षक, सुरक्षित र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने तथा जलवायु चेतना र संवादको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार असोज २७ गते पर्यटन वर्षको औपचारिक उद्घाटन हुनेछ।
पर्यटन वर्षअन्तर्गत कात्तिकको पहिलो साता स्थानीय युवा, शिक्षक–शिक्षिका, जनप्रतिनिधि तथा गाइडलाई जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण दिइनेछ । कात्तिक १० देखि १९ गतेसम्म ‘सेलिब्रिटी हिमाल आरोहण’ कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित आरोहीलाई जुगल ‘एभरेस्ट भ्यू प्वाइन्ट’ आरोहण गराउने योजना छ ।
कात्तिक ११ देखि १६ गतेसम्म गुम्मा, अम्बाखर्क, लामापोखरी, स्यावल पोखरी, ताप्कादिङ हुँदै नेपेमसालसम्मको पदमार्गको सम्भाव्यता तथा पूर्वाधार अध्ययन गरिनेछ । कात्तिक १६ गते राष्ट्रियस्तरको धार्मिक तथा आध्यात्मिक सम्मेलन आयोजना गरिने गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।

मंसिरमा भने जुगलमा साहसिक र सांस्कृतिक गतिविधिको रौनक थपिनेछ। मंसिर २ देखि १५ गतेसम्म स्थानीय जनशक्तिका लागि एडभान्स माउन्टेन गाइड तालिम सञ्चालन हुनेछ भने मंसिर १६ गते उच्च हिमाली तथा पहाडी क्षेत्रमा साहसिक हाइकिङ प्रतियोगिता आयोजना गरिनेछ। मंसिर २० गते कुम्भेश्वर मेलाका अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुनेछन्।
मंसिर १६ र १७ गते ‘जुगल सांस्कृतिक महोत्सव तथा फुड फेस्टिभल’ आयोजना गरिनेछ। विभिन्न जातजातिका झाँकी, मौलिक भेषभूषा, स्थानीय परिकार र चर्चित कलाकारका सांगीतिक प्रस्तुतिले महोत्सवलाई विशेष बनाउने गाउँपालिकाको तयारी छ। मंसिर १७ गते साहसिक साइकलिङ यात्रा तथा प्रदर्शनीात्मक कार्यक्रमसमेत हुनेछ ।
पौषमा जुगल लगानी सम्मेलनसँगै जलवायु परिवर्तन र पर्यटनसम्बन्धी ‘जुगल क्लाइमेट, कम्युनिटी एन्ड टुरिजम डाइलग’ आयोजना गरिनेछ। लगानी सम्मेलनमार्फत पर्यटन पूर्वाधार, जलस्रोत, कृषि तथा उद्योग क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ। पौष २५ र २६ गते समापन कार्यक्रम तथा पौष २६ गते जुगल बाइकिङ र्याली आयोजना हुनेछ।
माघ १ गते ताङ्किम्राङ बाेल्दे जात्रा, तांकी माङ जात्रा तथा पाङ्गार्पु सेल्चाङङार जात्रा मंसिर पञ्चमी जात्रा जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिसमेत सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत गौरव राज केसीले जानकारी दिए ।
‘जुगललाई विश्वसामु चिनाउन पहिल्यै डकुमेन्ट्री बनाएको थिएँ’
कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव ईश्वर गुवाजुले आफू जुगल गाउँपालिकाकै स्थानीय भएकाले पर्यटन वर्षलाई रोचक र रचनात्मक बनाउन व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो।
गुवाजुले जुगलको पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले आफूले विगतमा निजी खर्चमै जुगल गाउँपालिकाको भिडियो डकुमेन्ट्री निर्माण गरेको क्षणसमेत स्मरण गर्नुभयो।
उहाँले पर्यटन वर्षलाई औपचारिक कार्यक्रममै सीमित नगरी जुगलका प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका सम्भावनालाई व्यवहारमै उजागर गर्ने अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत केसीले पर्यटन वर्ष सफल बनाउन स्थानीय समुदाय, निजी क्षेत्र र पर्यटन व्यवसायी सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। जुगल आउने पाहुनालाई न्यानो स्वागत, सुरक्षित वातावरण र स्वच्छ पर्यटकीय गन्तव्यको अनुभूति गराउन स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ।
पर्यटन व्यवसायी मिलन लामाले गाउँसभाको निर्णयअनुसार पर्यटन वर्षको कार्यक्रम अघि बढाइएको बताउँदै जुगलका सांस्कृतिक, सामाजिक र प्राकृतिक सम्पदालाई बहुपक्षीय सहकार्यबाट विश्वसामु चिनाउने अभियानका रूपमा अघि बढाउनुपर्ने बताए ।

साहसिक खेल, जलवायु संवाद, लगानी तथा व्यवसाय प्रवर्द्धन, क्षमता विकास, सांस्कृतिक महोत्सव, पदमार्ग तथा पूर्वाधार विकास र पर्यटन सूचना प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
जुगल पर्यटन वर्षले हिमाल र पदमार्गसँगै स्थानीय संस्कृति, खानपान, धार्मिक सम्पदा र साहसिक पर्यटनलाई एउटै गन्तव्यमा जोड्दै स्थानीय रोजगारी र अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।






