काठमाडौँ ।

चौतारा साँगाचोकगढी नगरपालिका १०, १४ र २ नम्बर वडाको संयुक्त आयोजनामा काठमाडौंमा चार दिने सामाजिक सुरक्षा भत्ता नविकरण शिविर सम्पन्न भएको छ । उक्त शिविरमार्फत दुई सय जना भन्दा धेरैले विभिन्न सेवा प्राप्त गरेका छन् । सिन्धुपाल्चोकबाट काठमाडौं आएर बसोबास गर्दै आएका शारीरिक अशक्त, ज्येष्ठ नागरिकलगायतका लागि लक्षित शिविर साउन २१ गते कोटेश्वर, २२ गते सरस्वतीनगर, २३ र २४ गते मुलपानीमा सञ्चालन गरिएको वडा नम्बर १४ का अध्यक्ष उद्दव नेपालले जानकारी दिए ।
उनका अनुसार शिविरमा नागरिकता सिफारिस १०, नागरिकता प्रतिलिपि सिफारिस १, विवाह दर्ता १०, जन्म दर्ता १४, मृत्यु दर्ता ३, नाता प्रमाणित १ र ज्येष्ठ नागरिक प्रमाणित १ जनाले सेवा पाए । स्थायी बसोबास गर्ने वडामा नै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्ने प्रावधान भए पनि काठमाडौंमै सेवा उपलब्ध गराइएकोमा सेवाग्राहीहरू खुशी देखिएका थिए ।
वडा सचिव पुनम भण्डारीका अनुसार यो शिविरबाट सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीय तहका स्थायी बासिन्दा तथा छिमेकी जिल्लाका सामाजिक सुरक्षा लाभग्राहीहरूले समेत सुविधा लिएका छन् ।






