सिन्धुपाल्चोक : चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग पुनः पहिरो र वर्षाका कारण अवरुद्ध भएपछि राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपको श्रृंखला सुरु भएको छ। सामाजिक सञ्जालमा सरकारमाथि आलोचना गर्नेहरूको संख्या बढ्दै गए पनि स्थानीयवासी र व्यवसायीहरूले भने वर्षौंदेखिको समस्यामा राजनीतिक स्वार्थ मात्रै हावी भएको टिप्पणी गरेका छन् ।
पूर्वसांसद माधव सापकोटासहित विभिन्न दलका नेताहरूले तातोपानी नाकाको सडक सञ्चालनमा सरकार उदासीन रहेको आरोप लगाइरहेका छन्। तर, नाकामार्फत व्यापार गर्दै आएका व्यवसायीहरू भने सडक अवरुद्ध हुँदा हरेक वर्ष अरबौंको व्यापार प्रभावित हुने समस्या नयाँ नभएको बताउँछन् ।
भोटेकोशी बाढी, जुरे पहिरो र निरन्तर प्राकृतिक विपत्तिले अरनिको राजमार्गलाई दशकदेखि संकटग्रस्त बनाइरहेको छ। तर, सरकार फेरिए पनि समस्या समाधानका लागि कुनै दीर्घकालीन योजना कार्यान्वयन हुन नसकेको स्थानीयहरूको गुनासो छ ।
जुरे पहिरोपछि निजी क्षेत्रकै अग्रसरतामा करिब तीन करोड रुपैयाँ जुटाएर वैकल्पिक मार्ग निर्माण गरिएको थियो। त्यसबेला सरकारभन्दा व्यवसायिक संघ–संस्थाहरू बढी सक्रिय देखिएका थिए। तर पछिल्ला वर्षहरूमा त्यो सक्रियता पनि कमजोर बन्दै गएको व्यवसायीहरूको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकका नेता जेपी सिलवालले अहिले सरकारको आलोचना गरिरहेका नेताहरूलाई लक्षित गर्दै, सत्ता बाहिर पुगेपछि मात्रै जनताको समस्या सम्झने प्रवृत्ति हावी भएको आरोप लगाए । उनले विगत दशकभर संघ र प्रदेश सरकारमा रहेका दलहरूले समेत तातोपानी नाकाको समस्या समाधान गर्न नसकेको उल्लेख गरे ।
यसैबीच आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, कानून मन्त्री सोबिता गौतम र सडक विभागका महानिर्देशकसहितको टोलीले भोटेकोशी क्षेत्रको पहिरोग्रस्त सडक खण्डको स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा रास्वपाका स्थानीय नेता सांगे शेर्पाले पन्थली र इको पहिरोका कारण जोखिममा रहेका सयौँ घरपरिवारको अवस्थाबारे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै मन्त्री लम्सालले अत्यधिक जोखिममा रहेका बस्तीलाई कानुनी प्रक्रिया पूरा गरी स्थानान्तरणको प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए।
तर मन्त्रीको अभिव्यक्तिलाई सन्दर्भबाहिर लगेर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रचार गरिएको भन्दै रास्वपा भोटेकोशी गाउँपालिकाका सभापति विष्णु श्रेष्ठले आपत्ति जनाएका छन् । उनले वास्तविक सन्देशलाई तोडमोड गरेर स्थानीयमा अनावश्यक भ्रम फैलाइएको दाबी गरे ।
व्यापार, अर्थतन्त्र र जनजीवनसँग प्रत्यक्ष जोडिएको तातोपानी नाका हरेक वर्ष राजनीतिक बहसको विषय बन्ने गरेको छ। तर स्थानीयवासीको प्रश्न उही छ—‘सडक कहिले खुल्छ?’ उनीहरूका लागि राजनीतिक आरोपभन्दा स्थायी समाधानको आवश्यकता अझ ठूलो बनेको छ ।

भिडियाे:





