सुर्खेत : कर्णाली प्रदेशको राजनीतिक समीकरण अन्ततः मुख्यमन्त्री यामलाल कँडेलको राजीनामासँगै नयाँ मोडमा पुगेको छ। प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै कँडेलले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सत्ता टिकाइराख्न कुनै पनि मूल्य चुकाउन आफू तयार नरहेको स्पष्ट पारे । पद आफ्नो लागि ठूलो विषय नभएको उल्लेख गर्दै उनले राजनीतिक नैतिकता र लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै राजीनामा दिएको बताए ।
गत असार ३२ गते नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का १६ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसअघि नै सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिएपछि कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
२०८० चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलको बहिर्गमनसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ। अब प्रदेशको सत्ता समीकरण कसरी बदलिन्छ भन्ने चासो बढेको छ ।






