सिन्धुपाल्चोकः भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडमा सञ्चालक समिति गठनलाई लिएर गम्भीर विवाद सतहमा आएको छ। सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि सम्बन्धित व्यक्तिहरूलाई जानकारी नै नदिई फर्जी सञ्चालक समिति गठन गरेर कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति गराएको आरोप लागेको छ । यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता भएपछि घटनाले नयाँ मोड लिएको छ ।
सेयरधनीहरूका अनुसार कोभिड महामारी र सिन्धुपाल्चोकको पहिरोपछि आर्थिक संकटमा परेको रिसोर्टको बैंक ऋण व्यवस्थापन गर्न नयाँ लगानीकर्ता भित्र्याउने सहमति भएको थियो। सोही सहमतिअनुसार अग्रवालले बहुमत सेयर लिएर रिसोर्टको व्यवस्थापन सम्हालेका थिए । हाल अग्रवाल र उनको परिवारको नाममा करिब १७ लाख कित्ता सेयर रहेको बताइएको छ ।
तर, रिसोर्ट नेपाल बैंकमा धितो रहेकाले बाँकी कर्जा नतिर्दा पुराना सेयरधनी कालोसूचीमा पर्ने जोखिम बढेको उनीहरूको दाबी छ। यस्तो अवस्थामा अग्रवालले पुरानो सञ्चालक समिति विघटन भएको देखाउँदै नयाँ समिति गठन गरी कम्पनी रजिस्ट्रारमा दर्ता गराएको आरोप लगाइएको छ ।
सेयरधनीहरूका अनुसार कम्पनीको विनियमावलीअनुसार सम्पूर्ण सेयरधनीलाई जानकारी गराएर मात्रै नयाँ सञ्चालक समिति गठन गर्न मिल्ने व्यवस्था भए पनि त्यसको पालना गरिएको छैन। अझ, सञ्चालकका रूपमा नाम राखिएका केही व्यक्तिले आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् ।
यसमध्ये उमेश गुप्ताले आफ्नो सहमति र हस्ताक्षरबिना नाम प्रयोग गरी सञ्चालक बनाइएको भन्दै कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका छन् । उनले आफू कुनै बैठकमा सहभागी नभएको, कुनै निर्णयमा हस्ताक्षर नगरेको र आफ्नो नाम दुरुपयोग गरिएको उल्लेख गर्दै उक्त जिम्मेवारीबाट मुक्त गरिनुपर्ने माग गरेका छन् ।
उक्त उजुरीपछि कम्पनी रजिस्ट्रारको कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको बताइएको छ । विवाद बढ्दै गए पनि भोटेकोशी हेली रिसोर्टको सञ्चालन भने हालसम्म जारी छ ।







