काठमाडौं : लागू औषध नियन्त्रण ब्युरोले ‘ट्याटु हाउस’को आवरणमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा चार जनालाई पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले गत भदौ २५ गते ललितपुर महानगरपालिका–१७ हात्तीवनस्थित नाम नखुलेको ट्याटु हाउसबाट तीन जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल २ हजार ७०० क्याप्सुल र खैरो हेरोइन ३.८ ग्राम बरामद भएको ब्युरोले जनाएको छ ।
थप अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न अर्का एक जनालाई पनि ललितपुर महानगरपालिका–२६ मिनभवनबाट पक्राउ गरिएको छ। उनको साथबाट ट्रामाडोल ६ हजार ३४० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–४ ठेगाना भएका २९ वर्षीय जनार्दन घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ स्थायी वतन भएका २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर मकवानपुरगढी गाउँपालिका–२ का ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ का ३१ वर्षीय राजु तामाङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूबाट कुल १० हजार ४९० क्याप्सुल ट्रामाडोल र ३.८ ग्राम खैरो हेरोइन बरामद भएको छ। साथै डिजिटल तराजु एक थान र मोबाइल फोन चार थानसमेत बरामद गरिएको छ ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइन ३.८ ग्रामको कारोबारमा संलग्नलाई ४ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तथा ट्रामाडोल १० हजार ४९० क्याप्सुलको कारोबारमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने ब्युरोले जनाएको छ ।








