काठमाडौं : सुनजस्तो देखिने पहेँलो धातु देखाएर विभिन्न व्यक्तिबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन् ।

पक्राउ परेका थापाविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार थापाले टोखा नगरपालिका–९, मिलनटोल स्थित एक गेष्ट हाउसबाट सुनजस्तो देखिने पहेँलो धातुको वस्तु देखाई विभिन्न व्यक्तिलाई झुक्याउँदै पटक–पटक रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ८ सय ५६ ग्राम बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार थापा यसअघि पनि जबरजस्ती करणीसम्बन्धी कसुरको मुद्दामा कैदी रहेका थिए । उनी २०८२ भदौ २४ गते नक्खु कारागारबाट फरार भएको समेत खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।







