सिन्धुपाल्चोक : भोटेकोशी बाढीले अभिभावक गुमाएका बालबालिकाको पढाइ नरोकिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले त्यस्ता बालबालिकालाई नर्सरीदेखि कक्षा १० सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ ।
प्याब्सन सिन्धुपाल्चोकले बाढीपीडितका लागि १० लाख ४८ हजार ५ सय रुपैयाँ सहयोगसमेत जुटाएको छ । उक्त रकम केन्द्रीय प्याब्सनको खातामार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।
प्याब्सनका केन्द्रिय सदस्य कर्मवाङ्गेल लामा बागमती प्रदेश उपाध्यक्ष ऋषिराम नेपाल र जिल्ला अध्यक्ष बुद्धिप्रसाद आचार्यले पत्रकार सम्मेलन मार्फत सहयोग तथा छात्रवृत्तिसम्बन्धी जानकारी दिएका हुन् ।
जिल्लाका १९ विद्यालयमध्ये १७ विद्यालयबाट रकम संकलन गरिएको अध्यक्ष आचार्यले जानकारी दिए। विद्यालयले संस्थागत रूपमा सहयोग गरेका छन् भने शिक्षक–कर्मचारीले पारिश्रमिकबाट रकम कटाएर तथा विद्यार्थीले खाजा र पकेट खर्चबाट रकम बचाएर सहयोग गरेका छन् ।
‘हामीले गरेको सानो सहयोग बाढीमा परेर मृत्यु र बेपत्ता भएका पीडित परिवारसम्म पुग्ने विश्वास लिएका छौँ,’ आचार्यले भने।
बाढीमा प्याब्सनअन्तर्गतका विद्यालयमा अध्ययनरत २९ जना बालबालिकाले अभिभावक गुमाएको जानकारी दिँदै उनीहरूलाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति उपलब्ध गराउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइएको प्याब्सनले जनाएको छ ।
त्यस्तै, प्याब्सनअन्तर्गत नरहेका तर भोटेकोशी बाढीमा अभिभावक गुमाएका जिल्लाका अन्य बालबालिकालाई समेत आवश्यकता हेरी निःशुल्क शिक्षा प्रदान गर्ने तयारी गरिएको छ ।
सिन्धुपाल्चोकमा भोटेकोशी बाढीबाट २३९ जना बेपत्ता भएको विवरण छ ।
देशभरका प्याब्सन आबद्ध विद्यालयले बाढीपीडितका लागि १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको प्याब्सनले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल, पूर्वअध्यक्ष जीवन श्रेष्ठसहित जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता थियो ।







