काठमाडौं : वडा कार्यालयबाट पाइने सेवा लिन गाउँ फर्किनुपर्ने बाध्यता हटाउँदै सिन्धुपाल्चोकका केही स्थानीय तहले राजधानीमै सेवा शिविर सञ्चालन गर्न थालेका छन् । तर, नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले गरिएको भनिएको यस्तो अभियान राजनीतिक बहसको विषयसमेत बनेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वडामध्ये ८ वटा वडाले भदौ १५ र १६ गते काठमाडौंको कोटेश्वरमा सेवा शिविर सञ्चालन गरे । वडा नम्बर २, ३, ५, ७, ८, ९, १० र १४ को आयोजनामा भएको शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, पञ्जीकरण तथा वडा कार्यालयबाट उपलब्ध हुने विभिन्न सेवा राजधानीबाटै प्रदान गरिएको थियो ।


विशेषगरी काठमाडौंमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक, अशक्त तथा शारीरिक रूपमा कठिनाइ भएका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको आयोजकको भनाइ छ । स्थायी ठेगाना रहेको वडा कार्यालयसम्म पुग्न समय, खर्च र शारीरिक कठिनाइ हुने अवस्थाका नागरिकले राजधानीमै सेवा पाएपछि राहत महसुस गरेका थिए ।

तर, सामाजिक सञ्जालमा भने शिविरलाई लिएर प्रश्न उठ्यो । नगरपालिकामा एमाले र कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रहेका वडाहरूले मात्रै राजधानीमा शिविर सञ्चालन गरेको भन्दै केहीले यसलाई आगामी निर्वाचनसँग जोडेर ‘भोटको राजनीति’ गरेको आरोप लगाए ।

वडा नम्बर १४ का अध्यक्ष उद्धव नेपाल भने जनतालाई घरदैलोमै सेवा पुर्याउने कामलाई राजनीतिक दृष्टिले हेर्न नहुने बताउँछन् ।
‘भोटको राजनीति गर्न खोजिएको भए पार्टीका नेता बोलाएर उद्घाटन र समापन गरिन्थ्यो होला,’ नेपालले भने, ‘नागरिकलाई सहज रूपमा सेवा दिन गरिएको कामलाई सामाजिक सेवाका रूपमा लिनुपर्छ ।’
चौतारा साँगाचोकगढीमा मात्रै नभई सिन्धुपाल्चोकका अन्य स्थानीय तहले पनि गाउँबस्तीमा पुगेर सेवा दिने र राजधानी तथा उपत्यकामा रहेका आफ्ना नागरिकलाई समेत लक्षित गरी यस्ता शिविर सञ्चालन गरिरहेका छन् ।
जुगल गाउँपालिकाका वडा नम्बर ३ र ४ ले पनि काठमाडौंमा वडाबाट प्रदान हुने विभिन्न सेवा उपलब्ध गराएका थिए । त्यस्तै सुनकोशी गाउँपालिकाका विभिन्न वडाले भक्तपुरमा सेवा शिविर सञ्चालन गरेका छन् । सुनकोशीका वडा अध्यक्ष ईश्वर तिमल्सिनाका अनुसार गाउँ फर्किन नसक्ने नागरिकलाई लक्षित गरी उपत्यकामै सेवा उपलब्ध गराइएको हो ।

स्थानीय तहले नागरिकको पहुँचमा सेवा पुर्याउने अभ्यासलाई निरन्तरता दिन थालेसँगै यस्ता शिविरलाई राजनीतिक गतिविधिभन्दा ‘सेवा जहाँ नागरिक, त्यहीँ सरकार’ भन्ने अवधारणाबाट हेर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।






