सिन्धुपाल्चोक : रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सिन्धुपाल्चोकका विद्यार्थीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम सहयोग गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका विद्यार्थीले १३ हजार ७ सय ६५ रुपैयाँ संकलन गरी विद्यालय प्रशासनमार्फत कोषमा जम्मा गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक राजकुमार यादवका अनुसार अभिभावकले खाजा खर्चका लागि दिएको सानो–सानो रकम बचत गर्दै विद्यार्थीहरूले विपद्मा परेकालाई सहयोग गरेका हुन् ।
बाढीका कारण विस्थापित परिवारको छिटो पुनर्स्थापना होस् र प्रभावित बालबालिकाले चाँडै विद्यालय फर्किएर पढ्न पाऊन् भन्ने उद्देश्यले सहयोग गरिएको प्रधानाध्यापक यादवले बताए ।
विद्यालयका शिक्षक–शिक्षिकाको निरन्तर लगनशीलता र उत्प्रेरणाले विद्यार्थीमा सानै उमेरदेखि सहयोगी भावना विकास भएको विद्यालयको भनाइ छ । बागमती प्रदेश सरकारको नमुना विद्यालयका रूपमा रहेको सिद्धि गणेश माध्यमिक विद्यालयले विभिन्न विपद् तथा दुःखका समयमा सहयोग गर्दै आएको छ ।








