भक्तपुर : भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने आरोपमा प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पसलबाट ८९ वटा भरिएका ग्यास सिलिन्डर बरामद गरेको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह पक्राउ परेका हुन् । सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका शाहले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले पसलमा अनुगमन गरेको थियो ।
अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले गरेको अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यास सिलिन्डर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिहीबार साँझ भक्तपुर नगरपालिका–२ इटाछेबाट पनि ग्यास कालोबजारीको आरोपमा अर्का व्यवसायी पक्राउ परेका छन् । प्रहरीले १४ वटा भरिएका सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याइएको छ । उनीहरूमाथि ग्यासको मूल्य वृद्धि गरी बिक्री गरेको तथा कालोबजारी गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






