काठमाडौं : सरकारले तोकेको मूल्यलाई बेवास्ता गर्दै एलपी ग्यास बिक्री गर्ने एक किराना पसल कारबाहीमा परेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले सुगम ग्यासको एक सिलिन्डरमा तोकिएको मूल्यभन्दा ५४० रुपैयाँ बढी असुलेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।
विभागका अनुसार सरकारले एक सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकेको छ । तर, उक्त पसलले उपभोक्तासँग २ हजार ६ सय रुपैयाँ लिएर ग्यास बिक्री गरिरहेको अनुगमनका क्रममा फेला परेको थियो ।
विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार बढी मूल्य असुलेको प्रत्यक्ष प्रमाण भेटिएपछि पसल सञ्चालकलाई तत्काल कारबाही गरिएको हो ।
उपभोक्तामाथि तोकिएको मूल्यभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम ३ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।
विभागले बजारमा अत्यावश्यक वस्तुको मूल्य र बिक्री वितरणको अवस्थामाथि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।






