काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने परम्परा छ ।
धार्मिक मान्यताअनुसार आजको दिन विधिपूर्वक पूजा गरेर उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ । ब्राह्मणले पूजा गरी उखेलिएको कुश जजमानको घरमा पुर्याउने र त्यसलाई सुरक्षित राख्ने चलन छ ।
विज्ञहरु अनुसार अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्न मिल्ने शास्त्रीय मान्यता छ । तर कुशेऔँशीका दिन उखेलिएको कुश भने वर्षभर हुने देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।
कुशेऔँशीलाई बाबुको सम्मान गर्ने दिनका रूपमा समेत मनाइन्छ। बाबु जीवित रहेका छोराछोरीले उनलाई खाना खुवाउने, सम्मान गर्ने तथा आशीर्वाद लिने गर्छन् । दिवंगत बाबुको सम्झनामा भने तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा छ ।
सनातन धर्ममा कुशलाई पवित्र वस्तुका रूपमा लिइन्छ । कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने धार्मिक विश्वास छ ।
धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीको उत्पत्तिसँगै पवित्र कुशको समेत सृष्टि गरेका थिए । त्यसैले देवकार्यदेखि पितृकार्यसम्मका विभिन्न धार्मिक कर्ममा कुशको प्रयोग हुँदै आएको छ ।






