काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौर वडा कार्यालयले काठमाडौंमा बसोबास गर्दै आएका वडावासीलाई राजधानीमै पुगेर वडा कार्यालयबाट प्रदान गरिने सेवा उपलब्ध गराएको छ ।
वडावासीलाई आफ्नै वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले काठमाडौंमा सेवा शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै वडा कार्यालयबाट प्रदान हुने विभिन्न सेवाहरू उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ ।
विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा बालबालिकालाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरणको सेवा दिइएको वडा सदस्य टंकबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा बसोबास गरिरहेका वडावासीलाई सेवा लिन गाउँ फर्किनुपर्ने अवस्थाको अन्त्य गर्दै राजधानीमै सेवा पुर्याइएको हो ।


वडा अध्यक्ष पासाङ तामाङले नागरिकको सहजता र सेवामा पहुँच सुनिश्चित गर्न वडा कार्यालयले समय–समयमा काठमाडौंलगायत विभिन्न स्थानमा पुगेर सेवा प्रवाह गर्दै आएको बताउनुभयो। नागरिकलाई सरल, सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउनु वडा कार्यालयको प्राथमिकता रहेको उहाँको भनाइ छ ।
काठमाडौंमा सञ्चालन गरिएको सेवा आजदेखि सुरु भएको हो। आज, भोलि र पर्सिसम्म सेवा निरन्तर सञ्चालन हुने वडा कार्यालयले जनाएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणबाहेक वडा कार्यालयबाट प्रदान गरिने अन्य आवश्यक सेवासमेत राजधानीमै उपलब्ध गराइएको छ ।
आफ्नै ठाउँमा सेवा लिन पाएपछि विशेषगरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका वडावासीले खुसी व्यक्त गरेका छन् । वडा कार्यालयसम्म पुग्नुपर्ने झन्झट र खर्च बचत हुनुका साथै राजधानीमै सेवा पाउँदा सहज भएको उनीहरूको भनाइ छ ।
सेवा प्रवाह कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव, कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।






