मेलम्ची : रसुवामा आएको विनाशकारी बाढीले पीडित बनेकाहरूको घाउमा मल्हम लगाउन मेलम्ची–९ का युवाहरू जुटेका छन् । Unified Youth Network (UYN) मेलम्ची–९ को पहलमा सञ्चालन गरिएको राहत अभियानबाट रु. ४६ हजार ४१७ रुपैयाँ ३४ पैसा संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
देश तथा विदेशमा रहेका नेपालीको सहयोगबाट संकलित उक्त रकम सेप्टेम्बर ५ मा कोषमा जम्मा गरिएको हो। UYN ले रकम जम्मा गरेको कारोबार विवरणसमेत सार्वजनिक गरेको छ ।
विपद्को समयमा पीडितको साथमा उभिन थालिएको अभियानमा विभिन्न व्यक्ति तथा शुभेच्छुकले सहयोग गरेका थिए । सानो–सानो सहयोग जोडिँदा राहतका लागि उल्लेख्य रकम जुटेको UYN ले जनाएको छ ।
UYN ले अभियानमा आर्थिक तथा नैतिक रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै विपद्का बेला मानवता र एकताभन्दा ठूलो सहयोग अरू हुन नसक्ने बताएको छ ।
संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।








