चौतारा : भोटेकोसी बाढीबाट प्रभावित रसुवाका परिवारलाई नवजागरण युवा समूहले २ लाख ५० हजार रुपैयाँ बराबरको राहत तथा आर्थिक सहयोग गरेको छ ।
समूहका पदाधिकारी, सदस्य तथा सहयोगी दाताबाट संकलित रकमबाट बाढीपीडित परिवारलाई नगद तथा खाद्यान्न सहयोग गरिएको हो ।
विनाशकारी बाढीमा परी नौकुण्ड गाउँपालिका–रसुवा घर भई हाल गोसाइँकुण्ड गाउँपालिका–धुन्चेमा बस्दै आएका ६ परिवारका ७ जनाको मृत्यु भएपछि उनीहरूका परिवारलाई समूहले किरियाखर्चबापत प्रतिपरिवार १५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । साथै चामल, नुन, तेल, दाल र सिरानीलगायत खाद्य सामग्रीसमेत उपलब्ध गराइएको समूहका अध्यक्ष सुजन बस्नेतले जानकारी दिए ।
त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका–१० र १२ का स्थायी बासिन्दा भई कामको सिलसिलामा रसुवामा रहेका दिपेन्द्र गिरी, सन्तोष खत्री, जीवन पुरी र कमल बस्नेतका परिवारलाई पनि आर्थिक सहयोग गरिएको छ । परिवारको मुख्य आधार गुमाएका उनीहरूका बालबालिकाको शिक्षा तथा आगामी दिनमा आइपर्ने समस्यामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले नगद हस्तान्तरण गरिएको समूहका सचिव सरोज बोहराले बताए ।


समूहले आगामी दिनमा पनि पीडित परिवारलाई आवश्यक सहयोग जारी राख्ने जनाएको छ।
नवजागरण युवा समूहले यसअघि पनि चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सडक बत्ती जडान, वृक्षरोपण तथा विभिन्न रोगबाट पीडितलाई आर्थिक सहयोगलगायत सामाजिक गतिविधि गर्दै आएको छ।
‘सामाजिक जागरणका लागि युवा एकता’ भन्ने मूल नाराका साथ २०७० सालदेखि सक्रिय समूहमा २५ सदस्य रहेका छन्। सुजन बस्नेतको अध्यक्षतामा रहेको समूहको उपाध्यक्ष पद हाल रिक्त छ। सचिवमा सरोज बोहरा, सहसचिवमा विवेक बस्नेत र कोषाध्यक्षमा प्रल्हाद बस्नेत रहेका छन्।

समूहका पूर्वअध्यक्ष शहदेव बस्नेतले अब राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण मात्र नभई बाढीपीडितको पुनःस्थापना र सुरक्षित आवास निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। राज्य र सहयोगी निकायले पीडितका लागि बास निर्माणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।






