काठमाडौं : इटहरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भदौ २८ गते बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइते दुवै जनाको उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापाको बिहान ५ः११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार इनरुवा नगरपालिका–३ का ३४ वर्षीय सागर रेग्मीको उपचारकै क्रममा बिहान ४ः५२ बजे मृत्यु भएको हो। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।







