काठमाडौ : नापजाँच सकिएको झन्डै पाँच वर्षपछि धनुषाको सबैला नगरपालिका–८ का ३८५ परिवारले बल्ल जग्गाधनी पुर्जा पाएका छन् ।
साविक ठिल्ला गाउँ विकास समिति क्षेत्रका यी परिवार लामो समयदेखि स्ववासीका रूपमा जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र भने पाउन सकेका थिएनन् । नापजाँचको काम सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढ्न नसक्दा पुर्जा वितरण रोकिएको थियो ।
नापी कार्यालय धनुषाले नापनक्सा भइसकेका जग्गाको बाँकी प्रक्रिया पूरा गर्दै ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । लालपुर्जा हात परेसँगै वर्षौंदेखि जग्गाको स्वामित्वलाई लिएर रहेको अन्योलसमेत हटेको छ ।
यसअघि सबैला नगरपालिकाका वडा नं. ४, ५, ६ र १० मा गरी ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण भइसकेको थियो ।
यससँगै सबैला नगरपालिकामा लामो समयदेखि जग्गा उपभोग गर्दै आएका थप परिवार औपचारिक रूपमा जग्गाधनी बनेका छन् ।







