काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको रक्तपातपूर्ण झडपले गृह मन्त्रालयलाई तत्काल कडा कदम चाल्न बाध्य बनाएको छ। घटनापछि मन्त्रालयले जिल्लाको प्रशासनिक र सुरक्षा संयन्त्रमा व्यापक फेरबदल गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख अधिकारीहरूलाई एकैसाथ फिर्ता बोलाएको छ।
गृह मन्त्रालयले सुनसरीका सीडीओ वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाएको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने उनको ठाउँमा डीआईजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
सशस्त्र प्रहरीतर्फ पनि कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर प्रधान कार्यालयका डीएसपी मदन नाथलाई जिम्मेवारी दिइएको छ।
आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा चलेको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ।






