चौतारा; कुनै बेला सेवा लिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पुगेका नागरिकको पहिलो गुनासो हुन्थ्यो– ढिलासुस्ती, झन्झट र कोठा–कोठा धाउनुपर्ने बाध्यता। तर अहिले त्यही कार्यालय सेवा सुधारको नमुना बन्ने प्रयासमा देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा प्रशासनले सेवा प्रवाहको शैली परिवर्तन गरेपछि नागरिकले सहज अनुभव गर्न थालेका छन् । कार्यालयमा ‘एकीकृत सेवा प्रणाली’ लागू गरिएपछि सेवाग्राहीले फाइल बोकेर कर्मचारीको खोजीमा भौंतारिनुपर्ने अवस्था अन्त्य भएको प्रशासनको दाबी छ ।
नागरिकले आवश्यक कागजातसहित कार्यालय पुगेपछि टोकन प्राप्त गर्छन् र सोही आधारमा पालैपालो सेवा लिन्छन्। प्रक्रिया अघि बढाउने जिम्मेवारी कर्मचारीले नै सम्हाल्ने भएकाले सेवाग्राहीको समय र श्रम दुवै बचत भएको बताइएको छ ।
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क नागरिक सहायता सेवाबाट आर्थिक वर्ष २०८२/०८३ मा ८ हजार ७ सय ७५ जनाले लाभ लिएका छन् । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन, निवेदन लेखन तथा फोटोकपी सेवा निःशुल्क उपलब्ध गराइँदा नागरिकको अतिरिक्त खर्चसमेत घटेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले पहिलोपटक वार्षिक सेवा विवरण सार्वजनिक गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको तथ्यांक सार्वजनिक गरेको छ ।
यद्यपि सेवा प्रवाहमा सुधार देखिए पनि नागरिकता प्रमाणपत्रको गुणस्तरबारे प्रश्न उठेको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले नागरिकताको प्रिन्ट चाँडै मेटिने समस्याले प्रतिलिपि लिनेको संख्या बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
एक समय आलोचनाको केन्द्र बनेको प्रशासन अहिले सेवा सुधारको उदाहरण बन्न खोजिरहेको छ। सुधारको यो अभियानलाई निरन्तरता दिन सके अन्य सरकारी कार्यालयका लागि समेत सिन्धुपाल्चोक प्रशासन अध्ययनको विषय बन्न सक्ने देखिन्छ ।







