काठमाडौं ।

कर्मचारीको सरुवा, पदस्थापन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कुन कर्मचारी कहाँ कार्यरत छन् भन्ने अभिलेख नभएको तथ्य खुलेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भगवती न्यौपानेले यो कुरा खुलासा गरेकी हुन् ।
मन्त्री न्यौपानेका अनुसार हाल मन्त्रालयसँग कर्मचारीको ठोस अभिलेख नै छैन । ‘कसले कति वर्ष कुन कार्यालयमा बसे, विदेश अध्ययनमा गएकामध्ये को फर्किए वा अझै विदेशमै छन् भन्ने तथ्यांकसमेत स्पष्ट छैन,’ उनले भनिन् ।
यस्तो अवस्थाले कार्यसम्पादनमा गम्भीर समस्या खडा गरेको छ । हाल झण्डै दुई सय स्थानीय तह कार्यकारी अधिकृतविहीन अवस्थामा छन् । तर, कुन कर्मचारी कहाँ छन् र कसले कार्यालय नगई तलब मात्र पचाउँदै आएका छन् भन्ने यकिन मन्त्रालयसँगै छैन ।
मन्त्री न्यौपानेले अभिलेख अभावका कारण उत्पन्न समस्या समाधानका लागि मन्त्रालयले अहिले कर्मचारीसम्बन्धी विवरण संकलन र अद्यावधिक गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको बताइन् । ‘अब व्यवस्थित तथ्यांक संकलनपछि मात्र कर्मचारी व्यवस्थापन पारदर्शी र प्रभावकारी हुन्छ,’ उनको भनाइ छ ।
हुनत कर्मचारीको व्यक्तिगत सूचना प्रणाली डिजिटलाइज्ड अभिलेखमा छ । तर, सो प्रणालीमा लेखिएको कार्यालयमा कर्मचारी कार्यरत नै हुन्नन् । अझ कर्मचारी संगठनका नेताहरु त कुन ठाउँमा काम गरिरहेको पत्तो पनि कसैलाई हुन्न । उनीहरुले मन्त्रालयमा सवारी साधनदेखि धेरै सुबिधा दुरुपयोग गरिरहेका हुन्छन् ।
यही अवस्थाका कारण नेपालमा कर्मचारी प्रशासन अझै परम्परागत ढाँचामा देखिन्छ । पारदर्शी सरुवा, पदस्थापन र सेवा प्रवाहका लागि मन्त्रालयले छिट्टै आधुनिक प्रणालीमा आधारित डाटाबेस निर्माण गर्नुपर्ने माग पनि उठ्न थालेको छ ।






