काठमाडौँ । सञ्चारमाध्यममा महिलाको सवाल उठान अझै कमजोर रहेको सरोकारवालाले बताएका छन् । परपल फाउण्डेसनले आयोजना गरेको एक अन्तरक्रियामा प्रस्तुत अध्ययन प्रतिवेदनका अनुसार महिलासम्बन्धी विषयलाई सञ्चारमाध्यमले अपेक्षित प्राथमिकता नदिएको देखिएको हो ।

फाउण्डेसनकी बोर्ड अफ डाइरेक्टर सिर्जना काफ्लेले नेपालका अग्रणी सञ्चारमाध्यममा गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै विगतको तुलनामा केही सुधार भए पनि महिलाका मुद्दा अझै पर्याप्त रुपमा उठान हुन नसकेको बताइन् । उनका अनुसार महिलासम्बन्धी विषय समाचारमा भए पनि निर्णयकर्ता वा नेतृत्व तहमा हुने पहुँचवालाकै आवाजलाई बढी प्राथमिकता दिइएको छ । राजनीतिमा लागेका महिलाको सञ्चारमाध्यममा पहुँच वृद्धिको उद्देश्य रहेको बोर्ड अफ डाइरेक्टर नानीमैया थापाले बताइन् ।
कार्यक्रममा राजनीतिक कार्यकर्ता तथा दोलखाको एक गाउँपालिकाकी पूर्वउपाध्यक्ष कालिका पाठकले आफूले अनुभव गरेको उदाहरण सुनाउँदै, ‘गाउँपालिकामा स्रोतसाधन अध्यक्षसँग हुने भएकाले सञ्चारमाध्यमले अध्यक्षलाई पहिलो प्राथमिकता दिन्छ, उपाध्यक्षका कुरा ओझेल पर्छन्,’ भन्ने चिन्ता व्यक्त गरिन् ।
अन्तरक्रियामा विभिन्न राजनीतिक दलका मध्यमस्तरका नेताकार्यकर्ता, सञ्चार सम्पादक तथा संवाददाताको उपस्थिति थियो । सहभागी सञ्चारकर्मीहरूले महिलासम्बन्धी विषयलाई प्राथमिकतामा राख्ने प्रयास भइरहेको भए पनि अझै खोजपरक सामग्री कम रहेको स्वीकार गरेका थिए ।
सञ्चार क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका उमेश पोखरेलले विगतको तुलनामा सुधार देखिए पनि अझै समस्या कायमै रहेको बताए । उनका अनुसार महिलाले आफैं समस्या उजागर गर्न र अधिकारका सवालमा सशक्त ढङ्गले अघि बढे यस्ता विषय मिडियामा प्राथमिकताका साथ आउँछन् । तर, खोजी पत्रकारितामा कमी रहेको उनको स्वीकृति थियो ।
फाउण्डेसनले मुख्यतः राजनीति गर्ने महिलाहरूको मिडिया कभरेजका विषयमा चासो राख्दै अध्ययन तथा छलफललाई निरन्तरता दिइरहेको जनाएको छ ।






