ललितपुर । सामाजिक भावनाले स्थापना गरिएको मानव सेवाका लागि जन्मभूमी सामाजिक संस्थाको पाँचौं साधारणसभा ललितपुरको टिकाथलीमा सम्पन्न भएको छ ।

२०७७ सालमा सिन्धुपाल्चोकमा दर्ता गरिएको यस संस्थाले स्थापना कालदेखि हालसम्म धेरै सामाजिक कार्यक्रम सञ्चालन गरिसकेको छ । प्राणघातक रोगबाट पीडित विपन्न बिरामीलाई उपचार सहयोग, आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई शिक्षा सहज बनाउनेदेखि आश्रम, वृद्धाश्रम र बालगृहमा भोजन वितरणसम्मका गतिविधि यस संस्थाले गर्दै आएको छ ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गीता श्रेष्ठले प्राकृतिक प्रकोप, विपत्ति र सामाजिक विकृति–विसंगति न्यूनीकरणमा राज्यका विभिन्न निकायसँग सहकार्य गर्दै समाजहितका कार्य अघि बढाइरहेको जानकारी दिइन् । गत आर्थिक वर्षमा मात्रै काभ्रेको बेथानचोक–४ का स्पाइनल रोगी हेमराज श्रेष्ठलाई १ लाख ९ हजार १०५ सहयोग गरिएको, त्यस्तै मण्डनदेउपुर–१२ का मृगौला पीडित कान्छा बहादुर पराजुलीलाई ५१ हजार १०५ सहयोग प्रदान गरिएको उनले बताइन् । साथै, चौतारा साँगाचोकगढीका ५० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रू. ६१ हजार २५६ बराबरको शैक्षिक सामग्री वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा प्रमुख सल्लाहकार निमनाथ फुयालले संस्थाको गतिविधिलाई प्रशंसा गर्दै, भौतिक रुपमा सधैं उपस्थित हुन नसके पनि अन्य माध्यमबाट निरन्तर सहयोग गर्ने बताए ।

विशिष्ट अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठले संस्थाले गरेको कार्यको सराहना गर्दै वडाको तर्फबाट समेत सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

कार्यक्रममा संस्थाका आजीवन तथा मानार्थ सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमध्ये सफल व्यवसायी केशव खड्का, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका सदस्य कुमार थापा लगायत छन् ।
आगामी दिनमा बार्षिक रुपमा संस्थालाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहने व्यक्तिहरु साथै संस्था संग सहकार्य गर्ने विभिन्न संघसंस्थाहरुलाई समेत सम्मान गर्ने योजना रहेको छ ।






