काठमाडौं ।

अरुणिमा–रमेश विकल अन्तर विद्यालय स्थलगत बाल चित्रकला प्रतियोगिता–२०२५ नव अरुणिमा माध्यमिक विद्यालय, आरुबारीमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ललितकला क्याम्पसका पूर्व प्रमुख एवं वरिष्ठ चित्रकार कृष्ण मानन्धरले बालबालिकामा लुकेका सिर्जनात्मक प्रतिभा उजागर गर्न यस किसिमका प्रतियोगिताले ठूलो योगदान पुर्याउने बताए । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष के. के. कर्माचार्य, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना र विद्यालयका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी गराइएको उक्त प्रतियोगितामा ३१ विद्यालयका ५९ जना विद्यार्थीको सहभागिता रहेको थियो । चित्रकला कृतिको मूल्याङ्कन ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव रबिन कोइराला र चित्रकलामा स्नातकोत्तर श्याम श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा चेल्सी वल्र्ड स्कूलकी आरोशी गुरुङ प्रथम, अरुणिमा मा.वि.की श्रीकन्या चाम्लिङ राई द्वितीय तथा न्यू बुद्ध प्रकाश सेकेन्डरी स्कूलका लामो लोप्चन लामा तृतीय भएका छन् । यस्तै टाइमलाइन स्कूलकी सिजन लामा र जीवनतारा एकेडेमीकी प्रशंसा तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजयी विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र पदकसहित सम्मान गरिएको थियो ।
समारोहको अन्त्यमा सभाध्यक्ष एवं नव अरुणिमा मा.वि.का अध्यक्ष गोपालप्रसाद बरालले सहभागी विद्यार्थी, निर्णायक, अतिथि तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।






