काठमाडौँ ।

डा.नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । यो उनको चौथो महाकाव्य हो । लम्सालका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रहसहित नौ पुस्तक प्रकाशित छन् ।
नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् ।
पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं भएर संयुक्त रूपमा कल्प सार्वजनिक गरेका थिए ।
यसअघि कर्ण, धारा र अग्नि तीन महाकाव्य प्रकाशित गरिसकेका लम्सालको यो महाकाव्यलाई प्रतीक्षाका साथ हेरिएको थियो । पुस्तक विमोचन अघि नै पुस्तक आउँदै गरेको समाचारले नेपाली मिडियामा यसरी ठाउँ पाउनुले महाकाव्यप्रति नेपाली पाठक र मिडियाको आकर्षण बढेको देखाउँछ । उच्चस्तरको चिन्तनलाई सहज र सरल भाषामा लेख्ने उनको विशेषता पनि यसको कारण हो । महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् । लम्साल समकालीन लेखकहरूमा तुलनात्मक रुपमा अध्ययनशील गम्भीर र पूर्वीय दर्शनको गहिरो जानकार मानिन्छन् । यो उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य हो मानिएको छ । उनलाई नेपाली महाकाव्यको पुनर्जागरण युगको नेतृत्व गरेको जस जाने गरेको छ ।






