काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्तिमार्फत सर्वसाधारणलाई प्रतिबन्धित प्लेटफर्ममा पहुँचका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल र इन्टरनेट सेवा प्रदायकमार्फत सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच रोकिसकेको जनाएको छ । असुरक्षित, अनधिकृत र जोखिमपूर्ण भीपीएन प्रयोग नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।
सरकारले नेपालमा सञ्चालनमा रहेका तर हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुपालनको अनुगमन गर्ने अधिकारी तोकी सूचीकरणका लागि पुनः आह्वान गरेको हो । सूचीकरणका लागि कुनै शुल्क नलाग्ने र दर्ता भएपछि तत्कालै पुनः सक्रिय गराइने पनि जानकारी गराएको छ ।
मन्त्रालयले सरकारको यो निर्णय सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु रहेको स्पष्ट पारेको छ । मन्त्रालयले यो निर्णय कार्यान्वयनमा सहयोग पुरÞ्याउन आम नागरिक र सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ ।






