काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसीस्थित बीपी राजमार्ग खण्डमा ठूलो मात्रामा नगद र सुनसहित एक युवक पक्राउ परेका छन्।

शुक्रबार बिहान करिब २ बजे काठमाडौँबाट सिराहातर्फ गइरहेको बा.प्र.०१–००६ ख ९१७३ नम्बरको इभि गाडी चेकजाँच गर्ने क्रममा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले गाडीमा सवार सिराहा गमरिया नगरपालिका–२ बस्ने १८ वर्षीय नरेश कुमार यादवलाई नियन्त्रणमा लिएको हो।
तलासीका क्रममा यादवले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३ लाख ५० हजार ३०० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, उनको झोलाबाट विभिन्न सुनका गरगहना समेत बरामद भएको छ। बरामद गरिएका गरगहनामा छड्के तिलहरी १ थान (७५ लाल) मूल्य १ लाख ६१ हजार ८८८ रुपैयाँ १२ पैसा, मंगलसूत्र १ थान (१२.६ लाल) मूल्य २ लाख ५९ हजार २१ रुपैयाँ, बेरुवा औंठी १ थान (६३.३ लाल) मूल्य ३ लाख ३ हजार ९७९ रुपैयाँ ६४ पैसा र सिक्री ३ थान (२.३२ तोला) मूल्य ५ लाख १ हजार २०५ रुपैयाँ ६३ पैसा रहेको प्रहरीले जनाएको छ।
नगद र सुनको गरगहना गरी कुल १२ लाख २६ हजार ९४ रुपैयाँ ३९ पैसाको सामग्री बरामद भएको हो। पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।






