काठमाडौं ।

जेन जी आन्दोलनका क्रममा चोरी गरेर लैजाने ११ लाख ८० हजार २२५ रुपैयाँ अन्ततः फिर्ता भएको छ । हायात होटलभित्रको क्यासिनोबाट चोरी गरिएको उक्त रकम चोरीमा संलग्न व्यक्तिहरूले आफैं प्रहरीसँग सम्पर्क गरी फिर्ता गरेका हुन् ।

चोरीमा संलग्न हुनेमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ३३ वर्षीय नारायण पौडेल रहेका छन् । उनी करिब १५–२० दिनअघि मात्र जापानबाट फर्किएका थिए । पौडेलसँगै उनका सहोदर दाजु, ३५ वर्षीय मनहरी पौडेल पनि उक्त घटनामा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरी बृत्त बौद्धका डीएसपी जयश्वर रिमालले जनाएका अनुसार चोरीमा संलग्न दुवै जनाले रकम फिर्ता गरेका छन् र थप अनुसन्धान अघि बढाइएको छ ।






