काठमाडौं ।

हालैको आन्दोलनका क्रममा सिंहदरवार र वरपर रहेका विभिन्न मन्त्रालय, आयोग तथा सरकारी कार्यालयका सयौँ सवारीसाधन जलेर नष्ट भएका छन् । प्राप्त तथ्यांकअनुसार ४सय ४४ वटा साना गाडी तथा बस र ६सय ९ वटा मोटरसाइकल/स्कुटर आगलागीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर जलेका छन् । त्यस्तै अर्थ मन्त्रालयमा ३६ गाडी, ५५ मोटरसाइकल, गृह मन्त्रालयमा २५ गाडी, ३० मोटरसाइकल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १ गाडी र ३१ मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र ३३ वटा साना गाडी र २ बससहित ३६ मोटरसाइकल जलेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ गाडी र ५७ मोटरसाइकल, युवा तथा खेलकुद मन्त्रालयमा ११ गाडी र २३ मोटरसाइकल नष्ट भएका छन् ।
वन तथा वातावरण मन्त्रालयका १७ गाडी र १० मोटरसाइकल, संघीय संसद्का १८ गाडी र ३६ मोटरसाइकल, सर्वोच्च अदालतका ५१ गाडी र गणना गर्न नसकिने संख्यामा मोटरसाइकल, त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २२ गाडी र ३४ मोटरसाइकल जलेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागमा ५० गाडी र २०० मोटरसाइकल क्षति भएको अनुमान गरिएको छ । सडक विभागमा ६५ गाडी जलेका छन् भने महान्यायाधिवक्ताको कार्यालयका २ साना गाडी र १ बस नष्ट भएका छन् ।
यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा १ मोटरसाइकल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा १८ गाडी र २१ मोटरसाइकल जलेको विवरण आएको छ ।
४ सय ४४ गाडी र ६ सय ९ मोटरसाइकल नस्ट भएका यी घटनाले सरकारी संरचना मात्र नभई राज्यको ठूलो सम्पत्ति खेर गएको छ ।






