दैलेख ।

दैलेख जिल्लाको डुड्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्की घुस रकमसहित नियन्त्रणमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु. १,००,००१ (एक लाख एक रुपैयाँ) घुस/रिसवत माग गरेको भन्ने उजुरी प्राप्त भएपछि उनलाई रंगेहात नियन्त्रणमा लिइएको हो।
सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग माग गरेको सो रकम लिएको अवस्थामा दैलेखकै मंगलगढी चौकबाट पक्राउ गरेको जनाएको छ।
हाल कार्कीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको र थप कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।






