सिन्धुपाल्चोक ।
बाह्रबिसेदेखि माथि विभिन्न स्थानमा गएको लेदोसहितको ठूलो पहिरोले तातोपानी नाकाबाट भित्र्याइएका करिब १५ सय कन्टेनर सामान रोकिएका छन्। घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लामो पहिरो खसेको सडक विभागले जनाएको छ। यीमध्ये इको, पान्थली र डाक्लाङका पहिरोले दसैँ लक्षित सामान अड्काएका छन्।

सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले बिहीबार स्थलगत अनुगमन गरेर व्यवसायी र स्थानीयसँग छलफल गरेको थियो। छलफलमा सहभागी व्यवसायीहरूले करिब ८–९ सय कन्टेनर फसेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्। शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाका अनुसार फलफूल, लसुन, लत्ताकपडा र कच्चा पदार्थसहितका सामग्री कुहिँदै गएका छन्।
“५० दिनदेखि सामान रोकिएको छ। एक पहिरो तार्दा मात्र १ देखि डेढ लाखसम्म खर्च हुन्छ। तीन वटा पहिरो कटाउँदा ३.५ देखि ४ लाखसम्म बढी खर्च आउँछ। अब त काम गर्नै नसक्ने स्थिति भयो,” शेर्पाले भने।
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले रसुवागढी नाका ठप्प भएपछि सबै सामान तातोपानीमा आएको बताए। उनका अनुसार करिब ५० अर्ब बराबरको सामान चीन र नेपाल दुबै तर्फ फसेको छ। “यसले मूल्यवृद्धि अझै बढाउँछ, उपभोक्ता मारमा पर्छन्,” उनले भने।
तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुँडालका अनुसार नाका बन्द हुँदा दैनिक करिब ७ करोड राजस्व गुमिरहेको छ। सरकारले यस आर्थिक वर्षमा तातोपानी भन्सारलाई २४ अर्ब राजस्व संकलनको लक्ष्य तोकेको छ।
स्थानीय वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार वर्षा सुरु भएलगत्तै माथिबाट लेदो बगेर सडक बगाउने समस्या दोहोरिँदै आएको छ। पहिरो पीडित राजेश थामीले भने, “हिउँदमा सरकार काम गर्दैन, बर्खा लागेपछि मात्रै आउँछ। हाम्रो बस्ती जोगाएर बाटो बनाइदिनुहोस्।”
महानिर्देशक डा. जैसीले अल्पकालीन योजना अनुसार २–४ दिनमै बाटो खोल्ने र दीर्घकालीन समाधानका लागि नयाँ डिजाइनमार्फत ठेक्का प्रक्रिया अघि बढाउने बताए। “हिजो कृष्णभीरमा जस्तै समस्या समाधान गर्यौँ, अब यहाँ पनि गर्छौँ,” उनले भने।
सडक विभागका अनुसार भोलिदेखि नै काम सुरु भए पनि सडक पूर्ण रूपमा सुचारु हुन कम्तीमा सात दिन लाग्नेछ। तर, वर्षा नरोकिए अझ ढिलो हुने अनुमान छ।






