मुग्लिङ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै चितवन प्रशासनले ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रूपमा बन्द भएकोले वैकल्पिक सडक प्रयोग गर्न सूचित गरेको हो । सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेको प्रशासनले जनाएको छ ।
महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौंडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङ जिल्लाको नौविसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको छ ।
यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्न भनिएको छ । यात्रुहरूलाई कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीसँग सूचना एवं सहयोग लिन आग्रह गरिएको छ ।
जोखिम मोलेर यात्रा नगर्न भन्दै प्रशासनले सडक खुलाउन हरदम प्रयत्न गरिरहेको जनाइएको छ । आवश्यक जानकारी एवं सूचनाका लागि जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल ९९८५५०१३९९९०, जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी, मदन लामा थिङ ९९८५५०९२२००० र सडक डिभिजन भरतपुरका सूचना अधिकारी, कृष्ण प्रसाद आचार्य ९९८५५०९२२१८० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।






