सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा वडास्तरीय विद्यालय वार्षिकोत्सव, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
वडा कार्यालय, पाँचपोखरी सामुदायिक सिकाइ केन्द्र र सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा श्री भोताङ देवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शिक्षा, स्वास्थ्य र समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो ।
कार्यवाहक वडा अध्यक्ष सुनछिरिङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा वडा अन्तर्गतका विद्यालयबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरियो। कक्षा १० का विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा ८ र १० मा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षक, उत्कृष्ट शिक्षक, विद्यालयका प्रधानाध्यापक तथा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका श्री भोताङ देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसैगरी पूर्व वडा अध्यक्ष ङिमा छिरिङ तामाङ, निवर्तमान वडा सचिव अल्लारे वाइबा, सेवा निवृत्त शिक्षकहरू तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने स्वास्थ्यकर्मीहरूको टोलीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको विशेष आकर्षण भने भोताङका सगरमाथा आरोहीहरूको सम्मान रह्यो। तीन–तीन पटक सगरमाथा आरोहण गरेका पेमा टासी तामाङ र लाक्पा तामाङ, पाँच पटक सगरमाथा चुमेका ग्याल्वो तामाङ तथा दुई पटक सफल आरोहण गरेका सिङ्गी तामाङलाई विशेष सम्मान गरिएको थियो ।
विविध सांस्कृतिक प्रस्तुतीसहित सम्पन्न कार्यक्रमले शिक्षा, सामाजिक योगदान र स्थानीय प्रतिभाको कदर गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।







