काठमाडौं : काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियानले नयाँ गति लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सम्हालेपछि ट्राफिक नियमको कार्यान्वयनसँगै सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।
यही अभियानलाई थप सशक्त बनाउने क्रममा आइतबारदेखि ‘दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना महाअभियान २०८३’ सुरु गरिएको छ । अभियानको पहिलो दिन ट्राफिक प्रहरी सडकमै उत्रिएर चालक, यात्रु र पैदलयात्रीसँग प्रत्यक्ष संवादमा जुट्यो। ‘२ मिनेट कार्यक्रम’मार्फत ट्राफिक नियम पालना, सुरक्षित सडक प्रयोग, गति सीमा, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग तथा मापसे गरेर सवारी नचलाउने विषयमा सचेतना दिइयो ।
विद्यालय–कलेजका विद्यार्थीलाई लक्षित सडक सुरक्षा कक्षा, सवारीमा ट्राफिक सन्देशमूलक स्टिकर टाँस्ने, सार्वजनिक यातायातको अनुगमन तथा यात्रुमैत्री सेवा प्रवर्द्धनजस्ता कार्यक्रम पनि अभियानका मुख्य आकर्षण बनेका छन् ।
एसएसपी काफ्लेको नेतृत्वमा ट्राफिक प्रहरीले कारबाही मात्रै होइन, दुर्घटना हुनुअघि नै सचेतना फैलाएर जोखिम न्यूनीकरण गर्ने रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ । कार्यालयका अनुसार सुरक्षित, व्यवस्थित र अनुशासित सडक संस्कृतिको विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।







