सिन्धुपाल्चोक : मनसुन सक्रिय भएसँगै भोटेकोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भन्दै मध्य भोटेकोशी जलविद्युत् आयोजनाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
आयोजनाले सूचना जारी गर्दै आवश्यकताअनुसार बाँधस्थलका स्पिलवे गेट खोल्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ । गेट खोलिएपछि भोटेकोशी नदीको पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनारका बस्ती तथा तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, पशु चौपाया चराउने, ढुंगा–गिट्टी उत्खनन गर्ने तथा अन्य गतिविधि नगर्न आयोजनाले आग्रह गरेको छ ।
आयोजनाले सूचना बेवास्ता गरी नदी क्षेत्रमा प्रवेश गर्दा हुन सक्ने सम्भावित दुर्घटनाप्रति व्यक्ति स्वयं जिम्मेवार हुने समेत जनाएको छ। साथै आवश्यक जानकारीका लागि आयोजनाले उपलब्ध गराएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने बताएको छ ।







