काठमाडौं । प्रधानमन्त्री बालेन शाहाले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री नियुक्त गरेका छन्। यससँगै सुदन गुरुङ गृहमन्त्रीका रूपमा पुनः सरकारमा फर्किएका छन् भने महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
नवनियुक्त मन्त्रीद्वयले मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ समारोहमा सरकारका उच्च पदाधिकारी, संवैधानिक निकायका प्रमुख तथा सांसदहरूको सहभागिता रहेको थियो।
यसअघि सम्पत्ति विवरणसम्बन्धी विवादपछि गृहमन्त्री पदबाट बाहिरिएका गुरुङलाई छानबिन प्रक्रियापछि पुनः सोही मन्त्रालयको जिम्मेवारी दिइएको हो। उनी गोरखा–१ बाट निर्वाचित रास्वपा का सांसद हुन् ।
त्यस्तै, सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा परिचित पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए। उनी यसअघि पनि सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।
मन्त्रिपरिषद् विस्तारसँगै सरकारले सुरक्षा, प्रविधि विकास र सार्वजनिक सेवा सुधारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







