सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन नेतृत्व चयनको विषयमा देखिएको विवादका कारण स्थगित भएको छ। जिल्ला नेतृत्व चयनको अन्तिम चरणमा पुगेको अधिवेशन सहमति र समन्वय अभावका कारण रोकिएको हो।
सुकुटेस्थित अधिवेशनस्थलमा शनिबारदेखि सुरु भएको कार्यक्रम जिल्ला सभापति चयनमा केन्द्रित थियो। सभापति पदका लागि जेपी सिलवाल, चक्रपाणि सिग्देल, पासाङ तामाङ, दिलमान श्रेष्ठ र कुमार श्रेष्ठ आकांक्षीका रूपमा अघि आएका थिए। उम्मेदवार धेरै भएपछि नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक रूपमा तीव्र बनेको थियो।
निर्वाचन प्रक्रिया सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले काभ्रेका सांसद मधुकुमार चौलागाईंको नेतृत्वमा तीन सदस्यीय टोली खटाएको थियो। तर बन्दसत्रको बाँकी प्रक्रिया कहाँ सञ्चालन गर्ने भन्ने विषयमै नेताहरूबीच मतभेद देखिएपछि निर्वाचन प्रभावित भएको बताइएको छ।
एक पक्षले मेलम्चीमा कार्यक्रम सार्नुपर्ने अडान राख्दा अर्को पक्ष चौतारामै प्रक्रिया टुंग्याउनुपर्ने पक्षमा उभिएको थियो। स्थानको विषयमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको स्रोतको भनाइ छ।
विवाद समाधानका लागि विभिन्न प्रयास भए पनि सहमति नजुटेपछि अधिवेशन स्थगित गरिएको र अब यसको व्यवस्थापन तथा समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई दिइएको रास्वपाले जनाएको छ।
अधिवेशन स्थगित भएसँगै जिल्ला नेताहरूले सामाजिक सञ्जालमार्फत आ–आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन्। यसले पार्टीभित्रको आन्तरिक मतभेद सार्वजनिक रूपमा समेत देखिन थालेको संकेत गरेको छ।
पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभाव बढाइरहेको रास्वपामा जिल्ला तहको नेतृत्वका लागि बढ्दो आकांक्षासँगै सिन्धुपाल्चोकमा देखिएको विवादलाई पार्टीको संगठन विस्तारसँग जोडेर हेरिएको छ। अब केन्द्रको सक्रिय पहलपछि अधिवेशन कहिले र कसरी सम्पन्न हुन्छ भन्ने चासो कार्यकर्तामाझ बढेको छ।







