काठमाडौँ : काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच रहेको भगिनी सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान बीच भएको भेटवार्तामा दुवै स्थानीय तहबीचको सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको हो।
भेटका क्रममा विकास निर्माण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पर्यटन प्रवर्द्धन, क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानका क्षेत्रमा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। साथै, स्थानीय सरकारहरूबीचको सहकार्यलाई परिणाममुखी बनाउँदै नागरिकले प्रत्यक्ष लाभ पाउने कार्यक्रम सञ्चालन गर्न दुवै पक्ष सहमत भएका छन्।
कार्यवाहक प्रमुख डङ्गोलले स्थानीय तहहरूबीचको सहकार्यले दिगो विकास र सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै आगामी दिनमा मेलम्चीसँगको सम्बन्धलाई अझ मजबुत बनाइने धारणा राखिन्।
उपप्रमुख प्रधानले पनि मेलम्ची र काठमाडौँबीचको भगिनी सम्बन्धले अनुभव, स्रोत र अवसर आदान–प्रदानमा सहयोग पुगेको उल्लेख गर्दै विकास, पर्यटन र विपद् व्यवस्थापनका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन्।
छलफलको अन्त्यमा दुवै पक्षले साझा हितका विषयमा सहकार्यलाई निरन्तरता दिँदै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







